CLI

मुग्लिन–नारायणगढ सडकमा पहिरो, सडक एकतर्फी सञ्चालन

चितवन । लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान तुईन खोला पुल, नाम्सि खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरो तथा ढुङ्गा खसेपछि यातायात प्रभावित भएको हो।

तुईन खोला र नाम्सि खोलाको नयाँ पुल नजिक ढुङ्गा खसेको छ भने सिमलतालमा लेदो सडकमा बगेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।

सडक दुईतर्फी सञ्चालनमा ल्याउन डिभिजनले हेभी इक्विपमेन्ट परिचालन गरेर पहिरो र लेदो हटाउने काम गरिरहेको जनाएको छ। थप पहिरो नझरेमा केही समयमै सडक पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

यसैबीच, सो क्षेत्रमा अझै वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको भन्दै सडक डिभिजनले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न चालक र यात्रुलाई अनुरोध गरेको छ।

Leave Your Comment

Related News