CLI

सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने, सार्वजनिक गर्यो तालिका

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने भएको छ । यो सँगै वार्षिक निष्कासन तालिका सार्वजनिक गरिएको छ ।

वार्षिक ऋण योजनाअनुसार सरकारले विभिन्न अवधिका ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र जारी गरी आन्तरिक ऋण उठाउने भएको हो। सार्वजनिक गरिएको तालिकामा कुन मितिमा कति रकमको कुन प्रकारको ऋण उपकरण निष्कासन गरिनेछ भन्ने विवरण समावेश गरिएको सार्वजनिक ऋण तथा व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

सरकारले वर्षभरि ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ।

जसअनुरुप पहिलो त्रैमासिक (साउन–असोज) मा १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। यसमध्ये ९१ दिने र १८२ दिने ट्रेजरी बिलबाट ५–५ अर्ब रुपैयाँ गरी कुल १० अर्ब संकलन गरिनेछ ।

सोही अवधिमा ९० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाइने योजना छ । ४ वर्षदेखि १५ वर्षसम्म अवधिका ९ वटा विकास ऋणपत्र निष्कासन गरिनेछन्, प्रत्येक ऋणपत्रको आकार १० अर्ब रुपैयाँ रहनेछ। यस अवधिमा १५ वर्षे, १४ वर्षे, १३ वर्षे, ११ वर्षे, ९ वर्षे, ७ वर्षे, ५ वर्षे तथा ४ वर्षे अवधिका ऋणपत्र निष्कासन गरिने तालिका सार्वजनिक गरिएको छ।

त्यस्तै दोस्रो त्रैमासिक (कात्तिक–पुस) मा सरकारले ९३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। यसमध्ये १० अर्ब रुपैयाँ ट्रेजरी बिल र ८० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट संकलन गरिनेछ। २ अर्ब ५० करोड रुपैयाँ नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत समेत उठाइनेछ। दोस्रो त्रैमासिकमा ५, ६, ८, १२ र १३ वर्ष अवधिका विकास ऋणपत्र निष्कासन गर्ने तालिका छ।

यसैगरी तेस्रो त्रैमासिक (माघ–चैत) मा सबैभन्दा धेरै १ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना सरकारले बनाएको छ। यसमध्ये ३० अर्ब रुपैयाँ ट्रेजरी बिलमार्फत र ९० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत संकलन गरिनेछ।
तेस्रो त्रैमासिकमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल निष्कासन गरिनेछन्। साथै ४ वर्षदेखि १५ वर्षसम्म अवधिका थप ९ वटा विकास ऋणपत्र निष्कासन गर्ने तयारी गरिएको छ।

त्यस्तै चौथो त्रैमासिक (वैशाख–असार) मा ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने योजना छ। यस अवधिमा ५४ अर्ब रुपैयाँ ट्रेजरी बिलमार्फत, ४० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत, २ अर्ब ५० करोड रुपैयाँ नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत स्रोत परिचालन गरिनेछ।

ऋण उपकरणको ब्याजदर भने बोलकबोल (अक्सन) वा तोकिएको प्रक्रियाबाट निर्धारण गरिनेछ। ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिन अवधिका हुनेछन् भने विकास ऋणपत्र ४ वर्षदेखि १५ वर्षसम्मका अवधिका निष्कासन गरिनेछन्।

सरकारका अनुसार वार्षिक निष्कासन तालिकाले सम्भावित लगानीकर्तालाई आफ्नो लगानी योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News