CLI

राष्ट्रिय सभामा एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा अत्यावश्यक वस्तुको मूल्य निरन्तर बढेको, तर उपभोक्ताले सहज रूपमा सामानसमेत नपाएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्।

सांसद कृष्णबहादुर रोकायाले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताए। भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटे पनि नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य नघटाएको आरोप लगाउँदै उनले रुकुम पश्चिमसहित विभिन्न जिल्लामा देखिएको ग्यास अभाव तत्काल हटाउन माग गरे।

सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीका कारण नागरिकको भान्सा प्रभावित भएको बताइन्। पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूललगायतका वस्तुको मूल्य थप बढ्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो। ग्यासको मूल्य यथावत् रहेको भनिए पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको भन्दै सरकारले नागरिकका अत्यावश्यक आवश्यकताप्रति गम्भीर बन्नुपर्ने उनले बताइन्।

यस्तै, सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा एलपी ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य खाद्यवस्तुको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताए। खाद्यवस्तुमा विषादी र अखाद्य पदार्थको मिसावटले जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै उनले बजार अनुगमन प्रभावकारी बनाउन गुणस्तर विभागको क्षमता र जनशक्ति विस्तार गर्न सरकारसँग माग गरे।

सांसदहरूले महँगी नियन्त्रण, बजारभाउ घटाउने प्रभावकारी उपाय अपनाउन, एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा बजार अनुगमनलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।

Leave Your Comment

Related News