काठमाडौं । युक्रेनको राजधानी किभ वरपरका क्षेत्रमा भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।
यसै साताको सुरुआतमा युक्रेन र रुस दुवैतर्फ भएका भिन्न आक्रमणहरूमा कम्तीमा २७ जनाको ज्यान गएलगत्तै बुधबार बिहानै यी नयाँ प्रहारहरू भएका हुन्। पाँच वर्षदेखि जारी यो द्वन्द्व रोकिने कुनै संकेत देखिएको छैन।
किभको सैन्य प्रशासनका अनुसार मध्यरातिपछि सुरु भएको उक्त आक्रमणमा सातवटा स्थानहरू निशानामा परेका थिए। किभमा एक घण्टाभन्दा बढी समयसम्म हवाई आक्रमणको चेतावनी (एअर रेड अलर्ट) जारी राखिएको थियो।
सहरका मेयर भिताली क्लित्स्कोले सहरको केन्द्र नजिकै रहेको एउटा गोदाम भवन ध्वस्त भएको र उद्धार टोलीले भग्नावशेषबाट दुई जनालाई जीवितै बाहिर निकालेको बताएका छन्।
“भग्नावशेषमुनि अझै मानिसहरू हुन सक्छन्,” उनले टेलिग्राममा लेखेका छन्, “खोज तथा उद्धार कार्य जारी छ।”
आपत्कालीन सेवाका अनुसार आक्रमणमा अन्य धेरै गोदामहरूमा पनि क्षति पुगेको छ।
यसअघि टेलिग्राममै गरिएको अर्को पोस्टमा मेयर क्लित्स्कोले आक्रमणलाई विफल पार्न वायु रक्षा प्रणालीका एकाइहरू सक्रिय रहेको बताएका थिए।
युक्रेनले हालैका महिनाहरूमा रुसी ब्यालिस्टिक आक्रमणहरूबाट आफ्नो आकाशको रक्षा गर्न अमेरिकी निर्मित ‘प्याट्रियट’ क्षेप्यास्त्र प्रक्षेप्यास्त्रहरू (इन्टरसेप्टर) थप उपलब्ध गराउन आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्यालिस्टिक क्षेप्यास्त्र रोक्ने इन्टरसेप्टरको अभावले “रुसलाई मानवीय क्षति पुर्याउने यस्ता आक्रमणहरू गर्न थप प्रोत्साहन मात्र मिल्ने” बताएका छन्।
जेलेन्स्कीले अमेरिकामै प्याट्रियट प्रणाली उत्पादन गर्ने अनुमति (लाइसेन्स) माग्नका लागि गत मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरेका थिए।
संयुक्त राष्ट्रसंघका मानव अधिकार अनुगमनकर्ताहरूले सर्वसाधारण नागरिकको हताहतीको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्, जुन सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नै छिमेकीमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेयताकै सर्वोच्च विन्दुमा पुगेको छ।
एजेन्सी


