काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको २४ करोड १२ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतले बढेर गत आर्थिक वर्षमा ८५ करोड १० लाख रुपैयाँ पुगेको छ।
बैंकले असार मसान्तसम्म १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.५३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यसैगरी, बैंकको सञ्चालन नाफा ५६.२८ प्रतिशतले बढेर २ अर्ब १४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा १ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको थियो। बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) अघिल्लो वर्ष ७७ करोड ८७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा उल्लेख्य घटेर १३ करोड ५० लाख रुपैयाँमा झरेको छ।
सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढे पनि बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह भने सामान्य घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप ५७ अर्ब ५९ करोड ४१ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा घटेर ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा पनि ४७ अर्ब ६ करोड रुपैयाँबाट घटेर ४७ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको कुल चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफा गरी बैंकको कुल इक्विटी ३ अर्ब ७९ करोड ३० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४३ लाख रुपैयाँबाट बढेर ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। खुद नाफा र वितरणयोग्य मुनाफामा आएको वृद्धिका कारण बैंकको लाभांश क्षमता पनि ५.०९ प्रतिशतबाट बढेर १६.९९ प्रतिशत पुगेको छ।
बैंकको प्रति सेयर आम्दानीमा पनि राम्रो सुधार भएको छ । प्रति सेयर आम्दानी ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा कायम भएको छ । खराब कर्जा ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत कायम भएको छ । बैंकको आधारदर ५.४८ प्रतिशत, कस्ट अफ फण्ड ३.९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ २१३.७३ रुपैयाँ रहेको छ ।



