CLI

गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा बढेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँबाट ३५.३५ प्रतिशतले बढेर गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

बैंकले असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६६ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यसैगरी, बैंकको सञ्चालन नाफा २५.१२ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा ३ अर्ब ६१ करोड ११ लाख रुपैयाँ रहेको थियो। बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) अघिल्लो वर्ष ६ करोड ४७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा घटेर ४ करोड ९० लाख रुपैयाँमा झरेको छ।

बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवै बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप ९० अर्ब ११ करोड ५६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ पुगेको छ। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा पनि ६९ अर्ब १६ करोड रुपैयाँबाट बढेर ७८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल चुक्ता पुँजी ६ अर्ब २ करोड १ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा ५९ करोड ९२ लाख रुपैयाँबाट बढेर १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। खुद नाफा र वितरणयोग्य मुनाफामा आएको वृद्धिका कारण बैंकको लाभांश क्षमता पनि १०.५५ प्रतिशतबाट बढेर २०.२३ प्रतिशत पुगेको छ।

बैंकका अन्य वित्तीय सूचकहरू पनि बलियो देखिएका छन् । बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २६ पैसा रहेको छ भने पुँजी कोष अनुपात १३.६३ प्रतिशत कायम छ, जसले बैंकको वित्तीय स्वास्थ्य मजबुत रहेको सङ्केत गर्दछ । खराब कर्जाको अनुपात ४.६९ प्रतिशतबाट सामान्य बढेर ४.७६ प्रतिशत पुग्नु चुनौतीपूर्ण देखिए पनि बैंकको आधार दर (बेस रेट) ६.९४ प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ ।

Leave Your Comment

Related News