CLI

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षमा ९०५.७५ प्रतिशतले बढेर १ अर्ब ५९ लाख रुपैयाँ पुगेको छ।

बैंकले असार मसान्तसम्म २ अर्ब ३४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको (२ अर्ब ९ करोड ५३ लाख रुपैयाँ) तुलनामा ११.७७ प्रतिशतले बढी हो।

यसैगरी, बैंकको सञ्चालन आम्दानी १३.८८ प्रतिशतले बढेर २ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन आम्दानी २ अर्ब ४७ करोड ६ लाख रुपैयाँ रहेको थियो। बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पियरमेन्ट चार्ज) अघिल्लो वर्ष ६ करोड ४७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा घटेर ४ करोड ९० लाख रुपैयाँमा झरेको छ।

बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवै बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा ४५ अर्ब २३ करोड रुपैयाँबाट बढेर ४९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ सञ्चित छ। यता अघिल्लो आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा भने १४ करोड ४३ लाख रुपैयाँ धनात्मक भएको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी २.२८ रुपैयाँबाट बढेर २२.८८ रुपैयाँ पुगेको छ भने खराब कर्जा (NPL) ७.७५ प्रतिशतबाट घटेर ६.६५ प्रतिशतमा झरेको छ। त्यस्तै, आधार दर ७.१२ प्रतिशतबाट ५.८९ प्रतिशतमा ओर्लिएको बैंकको फण्डको लागत ३.७६ प्रतिशत र प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ कायम भएको छ।

Leave Your Comment

Related News