CLI

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान ८ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको तथा केही सडकखण्ड पूर्ण रूपमा बन्द रहेको जनाएको छ।

काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलो खोलामा पहिरो खसेपछि सितापाइला–धार्के सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा भोजपुरको बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवालीमा मेची राजमार्ग तथा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ मा निलदोर्जे पर्यटक सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्।

बागमती प्रदेशमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, रसुवाको खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएको छ भने मकवानपुरको सिमातमा पहिरो जाँदा कान्तिलोकपथको सडकखण्ड ठप्प भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगर र नवलपरासी पूर्वको गैँडाकोटमा पहिरो खसेपछि यातायात एकतर्फी सञ्चालन भइरहेको छ। मुस्ताङको केकु खोलामा पहिरो गएपछि बेनी–जोमसोम सडक तथा लमजुङको श्रीचौरमा पहिरोका कारण बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

लुम्बिनी प्रदेशमा पाल्पाको गोँडपुलमा पहिरोका कारण सिद्धार्थ राजमार्ग र गुल्मीको लेखमा मदन भण्डारी सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

कर्णाली प्रदेशमा पनि बाढीका कारण सडक यातायात प्रभावित भएको छ। रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड तथा मुगुको छायाँनाथ रारामा आएको बाढीले नाग्म–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडकमा पहिरो तथा बाढी पन्छाउने र यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षाका कारण थप जोखिम हुनसक्ने भएकाले यात्रुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

Leave Your Comment

Related News