CLI

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द गर्ने भएको छ।

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत एक्सएलपीई केबल जडान, चार्जिङ, पोल इरेक्शन, स्ट्रक्चर फिटिङ तथा फिडर प्रिभेन्टिभ मेन्टेनेन्सको काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार २०८३ साउन २३ गते शनिबार भीमसेनस्थान फिडरअन्तर्गत टेकु, वडा नम्बर १२ कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, वडा नम्बर २१ कार्यालय, १२ बर्से इनार, पलान्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

त्यस्तै, सोही दिन डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा बिहान १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

यसैगरी, २०८३ साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गत लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

निर्धारित कार्य सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै विद्युत सेवा सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ। विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

थप जानकारीका लागि नेपाल विद्युत प्राधिकरणको वेबसाइट वा हटलाइन ११५० को एक्सटेन्सन नम्बर ३ मा सम्पर्क गर्न सकिनेछ।

Leave Your Comment

Related News