काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालकमा मिनराज पोखरेल नियुक्त भएका छन्। कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका प्रताप सुवेदीको स्थानमा पोखरेललाई मनोनित गरिएको हो।
बैंकले बाँकी कार्यकालका लागि पोखरेललाई सञ्चालकमा मनोनित गरी पठाएपछि नेको इन्सुरेन्सको बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८औँ बैठकले उनको नियुक्तिलाई समर्थन गरेको कम्पनीले जनाएको छ।
पोखरेलले सोही दिनदेखि सञ्चालक पदमा पदबहाली गरेका छन्।
कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई गराएको हो। साथै, कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई समेत बोधार्थ पठाएको छ।


