CLI

आज अर्थमन्त्री र बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।

छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ। मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे उक्त छलफल सुरु हुनेछ। छलफलमा अर्थमन्त्री डा. वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने छन् ।

यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसेकका छन् । यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसेकका छन् ।

Leave Your Comment

Related News