काठमाडौं । काठमाडौंमा स्रोत नखुलेको २४ लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपैयाँ नगदसहित स्याङ्जाको वालिङ नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ४१ वर्षीय ईश्वर थापा पक्राउ परेका छन्।
प्रहरीका अनुसार आइतबार राति प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र. ०२–०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगदसहित पक्राउ गरेको हो।
त्यस्तै, काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको ४ लाख ८ हजार रुपैयाँ नगदसहित ४२ वर्षीय सुदर्शन खड्का पक्राउ परेका छन्। कपन बस्ने खड्कालाई प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति उक्त रकमसहित पक्राउ गरेको हो।
प्रहरीले खड्काले प्रयोग गरेको बागमती प्रदेश ०३–००१ प ७७२० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


