CLI
Global College

इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड

काठमाडौं । इरानले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चार प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा एक विदेशी नागरिकलाई बिहीबार मृत्युदण्ड दिएको छ। इरानी न्यायपालिकाको मिजान अनलाइनका अनुसार घेम हुसेनीलाई मुद्दा पुनरावलोकनपछि सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो।

मध्य इस्फहान प्रान्तमा प्रहरी अधिकारीको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा दोषी ठहरिएका हुसेनीमाथि हतियार प्रयोग गरी भय र आतङ्क फैलाएको, असुरक्षा सिर्जना गरेको तथा सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा गम्भीर क्षति पुर्‍याएको आरोप लगाइएको थियो। उनको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन।

इरानले यही घटनासँग सम्बन्धित अभियोगमा गत जुलाईयता अन्य चार जनालाई समेत मृत्युदण्ड दिइसकेको छ। पछिल्लो समय प्रदर्शनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको सङ्ख्या बढेको छ। इरानी अधिकारीका अनुसार जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो। आन्दोलनमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
नर्वेस्थित इरान ह्युमन राइट्स र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीका अनुसार इरानले गत वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो। यो सन् १९८९ यताकै उच्च सङ्ख्या भएको संस्थाहरूको दाबी छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार चीनपछि इरान विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक हो।

Leave Your Comment

Related News