काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएसँगै प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका हुन् ।
उनको निर्देशनमा रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाइएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत गरिरहेको छ । बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नरनगराउन आग्रह समेत गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले निर्देशन दिए लगत्तै सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।
प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।
अहिले सिंहदरबारस्थित गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको रसुवा बाढी सम्बन्धमा आग्रह :
1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ move भइसकेको छ ।
2. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न काम शुरु भएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।
3. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन दिईएको छ , sms कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।
4. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई प्रभावित क्षेत्र तर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु standby राख्न जानकारी गराइएको छ भने केही हेलिकप्टर प्रभावित क्षेत्र तर्फ गएका छन् ।
5. अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।
6. सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ ।



