काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भोटेकोसी विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
हालै रसुवाको भोटेकोसी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले विपद् प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने उद्देश्यले सहयोग गरेको जनाएको छ ।
बाढी तथा विपद्का कारण ज्यान गुमाउनेप्रति बैंक परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ ।
सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ । आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको समयमा सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै मानवीय कार्यमा निरन्तर सहयोग गर्ने बैंकले जनाएको छ ।



