काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीका कारण प्रभावित सडकमार्गमा आवागमन सहज बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्राधिकरणले भदौ १० गते गएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थान प्रभावित भएको जनाएको छ। प्रभावित स्थानबाट हालसम्म विदेशी २५२ जना र नेपाली ३३८४ जनाको हवाई उद्धार भइसकेको सूचनामा उल्लेख छ। तर न्यून मात्र प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हवाई उद्धारको माग भइरहेको प्राधिकरणले जनाएको छ।
अत्यावश्यक अवस्थामा मात्र खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि हेलिकोप्टर प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। हेलिकोप्टर आवश्यक नपर्नेहरूले सडकमार्ग प्रयोग गर्न तथा विपद्को विषम परिस्थितिमा सीमित साधन–स्रोतको अत्यावश्यक काममा मात्र प्रयोग हुने वातावरण बनाउन पनि अनुरोध गरिएको छ।
धादिङतर्फको वैकल्पिक मार्ग
धादिङ जोड्ने वैकल्पिक मार्गका रूपमा धादिङबेसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमघाट–बेलिनटार–केरौनिटार हुँदै मझुवा (ह्याम्लेट रुट) पृथ्वी राजमार्गसम्मको सडक प्रयोग गर्न प्राधिकरणले सुझाएको छ।
रसुवा जोड्ने वैकल्पिक मार्ग
रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा विदुर–टिकुरे–चौडा–आग्रे–नर्जी–ल्वाङछ–सरमथली–पाटीचोक हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे जाने बाटो प्रयोग गर्न भनिएको छ। उक्त मार्गमा ४ पाङ्ग्रे साना सवारी साधन चल्ने गरी सुधार गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बाढीबाट बढी प्रभावित स्थानीय तह र वडाहरूको विवरणसमेत सार्वजनिक गरेको छ। जसअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका विभिन्न वडा प्रभावित भएका छन्।
प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा भदौ १५ गते जारी सूचनामा वैकल्पिक सडकमार्गको प्रयोग गरी सडकमा हुने सवारी चाप घटाउन र उद्धार तथा राहत कार्यलाई सहज बनाउन सम्बन्धित सबैमा आग्रह गरिएको छ।



