काठमाडौं । बिनासकारी बाढी पश्चात उद्दार राहत र पुनर्नुर्माणको लागि बाढी प्रभावित क्षेत्रमा सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । कम्पनीले आर्थिक योगदान सहित प्रत्यक्ष राहतसमेत परिचालन गरेको जनाएको छ । सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम कम्पनीको प्रतिनिधि मण्डलले नेपाल सरकारका अर्थमन्त्री स्वणिम वाग्ले मार्फत बिझाएको हो ।
कम्पनीले बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत कार्य, स्वास्थ्य उपचार तथा बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना लगायतका कार्यमा उपयोग हुने अपेक्षा गरेको छ ।
विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको संस्था ‘सिप्रदियन सहायता संस्था’ मार्फत समेत प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले उल्लेख गरेको छ । सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न, तथा अन्य आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरिरहेका छन् । प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै संस्थाले स्थानीय स्तरमै समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।

सिप्रभ्य समूहले राष्ट्रलाई संकट परेको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको हो । विपद्को यस कठिन घडीमा प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने समूहले प्रतिबद्धता जाहेर गरेको छ ।




