CLI
Global College

बाढी विपत्तिका कारण करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित, असोज १ गते विजेता घोषणा गरिने

काठमाडौं ।  रसुवा र नुवाकोट लगायतका क्षेत्रलाई केन्द्र बनाएर गएको भीषण बाढी तथा पहिरोका कारण देश शोक र विपत्तिमा परेपछि आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय भएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको १ गते र १६ गते सञ्चालन गरिँदै आएको पाक्षिक करदाता प्रोत्साहन (उपहार) पुरस्कार घोषणा कार्यक्रम बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र शोकलाई मध्यनजर गर्दै यो पटक स्थगित गरिएको हो।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार भदौ १६ गते स्थगित भएको १५ दिनको अवधिसहित भदौ महिनाभरिको विजेता आगामी असोज १ गते एकैपटक घोषणा गरिने निर्णय भएको छ।

विपद्‌का कारण रसुवा, नुवाकोट लगायतका जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको र प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको कार्य जारी रहेकाले सोही परिस्थितिलाई ध्यानमा राखेर यो निर्णय गरिएको विभागले जनाएको छ।

Leave Your Comment

Related News