ऋणीको व्यवहार र भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण हुने

Prabhu

काठमाडौं ।अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपाल राष्ट्र बैंकसँगको समझदारी बमोजिम तयार गरेको साइकोमेट्रिक स्कोरिंग सोलुसशन प्रणाली कर्जा सूचना केन्द्रलाई हस्तान्तरण गरेको छ ।

नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको हो।

राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि समझदारी भए बमोजिम यो प्रणाली हस्तान्तरण गरिएको हो ।

यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुनेछ । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढंगले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।

यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्यांकीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाइ औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा राखिएको राष्ट्र बैंकको भनाइ छ।

यस विधिमार्फत् लघु तथा खुद्रा कर्जा लिने व्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ । त्यस्तै विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमासमेत सहज हुने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार