नेपाल रिइन्सोरेन्सले हकप्रद नल्याउने, लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने तयारी

Prabhu

काठमाडौं ।  नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हो ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्‍याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको अन्तिम चरणमा छ, एक/दुई दिनमा स्वीकृत भएर आउँछ, लाभांश (बोनस सेयर) वितरण गरेर २० अर्ब पुँजी पुर्‍याउँछौं,’ अध्यक्ष अर्यालले भने ।

साथै, अर्थमन्त्रालयमा पेस गरेको पुँजी वृद्धिको योजनाबारे बीमा प्राधिकरणलाई समेत जानकारी गराइएको उनको भनाइ छ । तर, पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने योजना कम्पनीको नरहेको उनले बताए ।

नेपाल पुनर्बीमाको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । अध्यक्ष अर्यालले भनेर अनुसार यदि बोनस सेयर वितरण गरेर २० अर्ब पुँजी पुर्याउने हो भने कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको लाभांश दिनु पर्ने देखिन्छ ।

प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । नेपाल रिइन्स्योरेन्सले भने थप १५ दिनको समय मागेको थियो । २ महिना हुँदा पनि कम्पनीले पुँजी वृद्धिको योजना प्राधिकरणलाई पेस गर्न सकेको छैन ।

‘कम्पनीले पुँजी वृद्धिको योजना मन्त्रालयमा पठाइसकेको तर सहमति आउन बाँकी रहेको छ,’ पुनर्बीमा कम्पनीका अध्यक्ष अर्यालले भने ।

स्रोतका अनुसार पुँजी वृद्धिका लागि मन्त्रालय सकारात्मक नरहेकाले कम्पनीको फाइल रोकेर राखेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार नेपाल पुनर्बीमाले हालसम्म पुँजी वृद्धिको योजना पेस गरेको छैन । मन्त्रालयको सहमतिपछि मात्रै योजना पेस गर्ने पत्र पुनर्बीमा कम्पनीले पठाएको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार