नयाँ स्टक अध्ययन गर्न तीन सदस्यीय समिति गठन

Prabhu

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज नेप्से बारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रसम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर सिवाकोटीको अध्यक्षतामा तीन सदस्यीय अध्ययन समिति गठन भएको जानकारी दिएकी हुन्।

समितिले अध्ययन गरेर ४५ दिनभित्र सरकारलाई सुझाव बुझाउनुपर्नेछ। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि सरकारले यसबारे अध्ययन गर्न अध्ययन समिति गठन गरेको हो। धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन लिइसकेको छ।

नयाँ एक्सचेन्जका लागि तीनवटा आवेदन परेका छन्। हिमालयन स्टक एक्सचेन्ज,नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण एक्सचेन्जले आवेदन दिएका हुन्।

समितिले नयाँ स्टकको लागि अनुमति दिन सकिने, हालको नेप्से पुनर्संरचना गर्नुपर्ने र यी दुवै काम सँगसँगै गर्न सकिने सुझाव दिएको अध्ययन समितिका एक सदस्यको भनाई छ  । हाल सेयर बजारमा लगानीको विविधिकरण गर्न सकिने अवस्था नरहेकोले नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ। तर, नयाँ स्टक एक्सचेन्ज ल्याउन कारोबारका विविध उपकरण पनि ल्याउनुपर्ने सुझाव दिइएको छ।

यदी नयाँ स्टक एक्सचेन्ज नल्याउने हो भने नेप्सेको पुनर्संरचना गर्नुपर्ने सुझाव राखिएको छ। यसको लागि नेप्सेमा साझेदार लगानीकर्ता भित्र्याउनुपर्ने, सर्वसाधारणमा सेयर जारी गर्न दिइनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार