काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएपछि ३२ महिनाको अवधिमा १६ प्रकारका कृषि उपकरणहरूको अनुसन्धान र विकास गरेको छ।
कारखानाका प्रमुख तथा इञ्जिनियर रितेश देवका अनुसार केन्द्रले नेपालका कृषि क्षेत्रका आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न साना–ठूला औजारहरू विकास गरेको हो। उनले भन, ‘अहिलेसम्म हामीले पराल काट्ने, धान काट्ने रिपर, धान रोप्ने सानो मेसिन, घाँस खुर्किने औजार, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने र गोड्ने यन्त्र, साना ट्रयाक्टरका लागि कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने उपकरण, केराको फाइबर निकाल्ने मेसिन, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, बञ्चरो, खुँडा, साना कुटो–कोदाली लगायत घरायसी प्रयोजनमा प्रयोग हुने उपकरणहरू अनुसन्धान तथा विकास गरिसकेका छौं।’
देवका अनुसार कारखानामा अनुसन्धान र विकासकै चरण जारी रहेकाले औजारहरूको व्यावसायिक उत्पादन भने पूर्ण रूपमा सुरु हुन सकेको छैन। तर सामान्य प्रयोगका लागि उत्पादन भएका केही औजारहरू भने बिक्री भइरहेको छ। उनले भने, ‘यहाँ आउने केही शुभचिन्तकहरूले उत्पादन भएका औजारहरू प्रत्यक्ष कारखानाबाट खरिद गरेर लैजाने गरेको देखिन्छ।’
औजार उत्पादनमा सहजता ल्याउन केन्द्रले हालै ५० लाख रुपैयाँ लगानीमा आधुनिक सिएनसी मेसिन जडान गरेको छ। ‘सिएनसी मेसिनले नयाँ औजारको विकास कार्यमा उल्लेखनीय सहजीकरण गरेको छ। यसले यहाँ कार्यरत इञ्जिनियर र प्राविधिक कर्मचारीहरूलाई काम गर्न सहज बनाएको छ,’ देवले भने ।
हाल कारखानामा ३६ जना कर्मचारी कार्यरत छन्। देवले कृषि औजार कारखानाको प्रभावकारी सञ्चालनका लागि राज्यस्तरबाट थप ध्यान र सहयोग आवश्यक रहेको बताए। उनले भने, ‘देशभरका किसानहरूलाई आवश्यक पर्ने औजारहरू यही कारखानाबाट उत्पादन गर्न सकिए देशका कृषकहरू ठूलो लाभान्वित हुनेछन्।’
त्यस्तै, तीन तहका सरकारहरू आगामी बजेट निर्माणको तयारीमा रहेको सन्दर्भमा, देवले कृषि औजार निर्माणका लागि आवश्यक कच्चा पदार्थ—विशेषगरी फलामको आयातमा भन्सार छुटको माग पनि गरिएको जानकारी दिए । उनले भने, ‘तयार कृषि औजारमा एक प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने भए पनि निर्माणका लागि ल्याइने कच्चा पदार्थमा २० प्रतिशतसम्म कर लागिरहेको छ। यस्तो अवस्थामा स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनु निकै चुनौतीपूर्ण छ।’
पुनर्जीवित हुँदै वीरगञ्जको कृषि औजार कारखाना
२०२४ साल फागुन २८ गते तत्कालीन सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको वीरगञ्ज कृषि औजार कारखाना सुरुवाती दिनहरूमा देश भित्र मात्र नभई विदेशसम्म पनि औजार निर्यात गर्ने क्षमतामा पुगेको थियो। तर व्यवस्थापनमा कमजोरीका कारण २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा पुगेको थियो।
कारखानालाई पुनर्जीवित गर्न राष्ट्रिय आविष्कार केन्द्रले पहल थालेको छ। २०७९ साल भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले कारखानाको व्यवस्थापन र सञ्चालन १० वर्षका लागि केन्द्रलाई सुम्पने निर्णय गरेको थियो। त्यसपछि २०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र केन्द्रका अध्यक्ष महावीर पुनबीच औपचारिक सम्झौता भएको हो। केन्द्रले भने २०७९ माघदेखि औपचारिक रूपमा काम थालेको हो।
पुनः सञ्चालन प्रारम्भ गर्दा कारखानाको अवस्था अत्यन्त दयनीय रहेको र यतिबेला बिस्तारै सुधार हुँदै गएको प्रमुख देवले गराए । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पनि कारखानालाई आवश्यक सहयोग पुर्याउन आफू प्रतिबद्ध रहेको जाए । उनले भने, ‘मैले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेपछि कारखानाको स्थलगत निरीक्षण गरेँ र कारखानालाई मजबुत बनाउँदै व्यावसायिक उत्पादनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छु।’