एमआरपी बिना स्पेयर पार्ट्स बिक्री गर्ने टोयोटाका आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स वाणिज्य विभागको कारबाहीमा

काठमाडौं । नेपालमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागका सूचना अधिकारी जगदीश अर्यालका अनुसार कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्री गरिने केही स्पेयर पार्ट्समा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको पाइएपछि कारबाही गरिएको हो।

“सर्भिस सेन्टरमा अनुगमन गर्दा केही स्पेयर पार्ट्समा एमआरपी उल्लेख गरिएको भए पनि थुप्रै वस्तुमा मूल्य नदेखिएको पाइएको थियो। उपभोक्ता संरक्षण ऐनअनुसार सबै वस्तुमा एमआरपी उल्लेख गर्नुपर्छ,” अर्यालले बताए।

विभागले युनाइटेड ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार दोषी ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा १ (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो।

विभागले उपभोक्ताको हक र हित संरक्षण गर्न नियमित बजार अनुगमन गरिरहेको जनाउँदै भविष्यमा पनि यस्ता उल्लंघन भएको पाइएमा कडाइका साथ कारबाही गरिने चेतावनी दिएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ अनुसार, स्वदेशमा उत्पादित वा विदेशबाट आयात गरिएका वस्तुमा उपभोक्ताले बुझ्न सक्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य रूपमा लेवल राख्नुपर्ने व्यवस्था गरिएको छ। लेवलमा उत्पादक वा आयातकर्ताको नाम, ठेगाना, दर्ता नम्बर, उत्पादन तथा उपभोग्य मिति, ब्याच नम्बर, अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी), वस्तुको गुणस्तर (यदि निर्धारण गरिएको भए), स्वास्थ्यमा असर पर्ने सामग्री भए चेतावनीसमेत समावेश गर्नुपर्ने उल्लेख छ।

विभागले यसअघि नै २०८१ साल चैत २० गतेभित्र सबै स्वदेशी तथा आयातित वस्तुमा लेबल अनिवार्य रूपमा राख्नुपर्ने सूचना जारी गरेको थियो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार