काठमाडौं । चर्चित ब्रिटिस अटो ब्रान्ड एमजीले उत्पादन गरेको एमजी विन्डसर ईभी नेपाली बजारमा आउने भएको छ । भारतमा सन् २०२४ को सेप्टेम्बरमा लन्च भएको यो गाडी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटपछि नेपालमा सार्वजनिक गरिने तयारी गरिएको छ।
एमजी विन्डसर नेपाली बजारमा ल्याउने तयारी भइरहेको पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीले जानकारी दिए । ‘बजेट अघि विन्डसर सार्वजनिक गर्न सकिने अवस्था देखिएन । बजेट अघि परीक्षणका लागि केही यूनिट विन्डसर ल्याइने छ । सार्वजनिक भने बजेटपछि मात्र गरिने छ,’ क्षेत्रीले भने ।
भारतीय बजारमा एमजी विन्डसर दुई भेरियन्टमा उपलब्ध छ । एमजी विन्डसर ईभी ३८ किलोवाट ब्याट्री प्याक र एमजी विन्डसर ईभी प्रो ५२.९ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । नेपाली बजारमा सानो ब्याट्री प्याक अर्थात ३८ किलोवाट आवरको एमजी विन्डसर ल्याइने क्षेत्रीको भनाइ छ । ठूलो ब्याट्री भेरियन्टको तुलनामा सानो भेरियन्ट मूल्यका हिसाबले किफायती र नेपाली बजारमा उपयुक्त हुने कम्पनीको विश्वास छ ।
भारतीय बजारमा एमजी विन्डसरले लन्चको ६ महिनामै २० हजार युनिटभन्दा बढी बिक्री गर्दै नयाँ रेकर्ड बनाएको छ। सोही सफलता नेपालमा पनि दोहोर्याउने अपेक्षा कम्पनीले लिएको छ।
नेपालको ईभी अपनाउने दर बढ्दो क्रममा रहेको अवस्थामा एमजी विन्डसरले प्रतिस्पर्धा थप चर्काउने अनुमान गरिएको छ।
पर्फमेन्स र ड्राइभिङ रेन्ज
एमजी विन्डसर ईभीमा ३८ किलोवाट आवरको लिथियम-आयन ब्याट्री प्याक दिइएको छ। यसको एमआईडीसी सर्टिफाइड रेन्ज ३३२ किलोमिटर रहेको छ, जसले दैनिक यात्रालाई सहज बनाउँछ। कारमा १३६ पीएसको पावर र २०० एनएम टर्क क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। यसमा इको प्लस, इको, नर्मल र स्पोर्ट गरी चारवटा ड्राइभ मोड उपलब्ध छन्ज । जसले फरक परिस्थितिमा सहज ड्राइभिङ अनुभव दिन्छ।
प्रिमियम इन्टेरियर र टेक्नोलोजी
विन्डसर ईभी आधुनिक र लग्जरी फिचर्सले भरिपूर्ण छ। यसमा १५.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र रियर एसी भेन्ट्स जस्ता अत्याधुनिक सुविधाहरू छन्। साथै २५६ कलरको एमबिएन्ट लाइटिङ, ९ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम र प्यानोरमिक ग्लास रुफ पनि दिइएको छ । जसले इन्टेरियरलाई विशेष बनाउँछ।
सुरक्षा
सुरक्षालाई प्राथमिकतामा राख्दै, कारमा ६ एयरब्याग, ईएसपी ९इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम०, एबीएस, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर, ३६० डिग्री पार्किङ क्यामेरा, टीपीएमएस र सभी पांग्रामा डिस्क ब्रेक उपलब्ध छन्।
आकर्षक डिजाइन र एक्सटेरियर
डिजाइनतर्फ हेर्दा, एमजी विन्डसर ईभीमा एयरोडायनामिक डिजाइन अपनाइएको छ। कनेक्टेड एलईडी डे(टाइम रनिङ ल्याम्प, एलईडी हेडलाइट, रातिमा चम्किने एमजी लोगो र क्रोम एसेन्ट्ससहितको ग्लस ब्ल्याक फ्रन्ट प्यानल यसलाई प्रिमियम लुक दिन्छ। १८ इन्चका अलोय ह्वील्स र फ्लश फिटिङ डोर ह्यान्डल्सले अझ आकर्षक बनाएको छ। पछिल्लो भाग कर्भी डिजाइनमा निर्माण गरिएको छ, जसले आधुनिकता झल्काउँछ।
स्मार्ट इन्टेलिजेन्ट की र लकिङ सिस्टम
विन्डसर ईभीमा प्रविधिमा आधारित स्मार्ट की फिचर छ। साँचो नजिक लैजाँदा गाडी आफै अनलक हुन्छ, र टाढा जाँदा आफै लक हुन्छ। यसमा पुश बटन स्टार्ट छैन—गाडीमा छिर्दैमा कार स्टार्ट हुनेछ, जुन प्रविधि सहजता र सुरक्षामा केन्द्रित छ।
नयाँ प्रविधि र स्टाइलिश लुकसहितको एमजी विन्डसर ईभीले नेपाली इलेक्ट्रिक कार बजारमा उल्लेखनीय स्थान बनाउने कम्पनीको विश्वास छ ।