काठमाडौं उपत्यकामा हराएका २२ दुईपांग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा हराएका तथा चोरी गरिएका २२ वटा दुईपांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

उक्त सवारी साधन कार्यालयमा आयोजित विशेष कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

ट्राफिक प्रहरीले प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा ती सवारी साधनहरू काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भू, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट फेला पारेको जनाएको छ। तीमध्ये केही सवारीमा वास्तविक नम्बर प्लेट जडान गरिएको थियो भने केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइयो।

यससँगै साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले हराएका वा चोरी भएका ४६७ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। यस्तै, चोरीका ४४ वटा सवारी साधनसहित संलग्न ६६ जना व्यक्तिलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर तथा वृत्तहरूमा पठाइएको छ।

सवारी साधन फिर्ता पाएपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई सामूहिक धन्यवाद दिएका थिए।

सवारी चोरी न्यूनीकरणका लागि ट्राफिक प्रहरीले केही सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएको छ। प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार सवारी साधनहरू सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक जस्ता सुरक्षा उपकरण प्रयोग गर्न तथा सुनसान स्थानमा पार्किङ नगर्न आग्रह गरिएको छ।

यदि सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

विगत तीन आर्थिक वर्षमा ट्राफिक प्रहरीले हराएका १ हजार  ३८३ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। जसअनुसार २०७९/८० मा ४९९ वटा, ०८०/८१ मा ४१७ वटा र ०८१/८२ मा हालसम्म ४६७ वटा सवारी फिर्ता गरिएका छन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार