काठमाडौं । एकैपटक छ वटा कम्पनीको शेयरको ‘लकइन अवधि’ आउँदो असार महीनामा सकिंदैछ।
कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि प्रथम चरण र दोस्रो चरणमा गरी आईपीओ निष्कासन गर्छन्। हाल प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली सहित उत्पादनजन्य कम्पनी भए त्यसको आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई पनि प्राथमिकतामा राखेर प्रथम चरणमा आईपीओ बिक्री गर्ने गरिएको छ।
प्रथम चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरिन्छ। यसरी सर्वसाधारणलाई जारी गरेको आईपीओ बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक, कम्पनीका कर्मचारी र आयोजना प्रभावितको शेयर कारोबार गर्न नमिल्ने गरी लकइनमा राख्ने प्रावधान छ।
यसरी लकइनमा राखिएको शेयर लकइन अवधि समाप्त भएको भोलिपल्टबाट मात्रै शेयरको कारोबार गर्न सकिन्छ। तर कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीले भने कम्पनी छाडेको निश्चित अवधि नपुगेसम्म लकइन सकिएपनि शेयर कारोबार गर्न सक्दैनन्।
लकइन अवधि सकिएपछि कम्पनीको शेयरमूल्यमा यसको प्रत्यक्ष असर पर्ने गर्छ। आउँदो असार महीनामा यस्तै विभिन्न ६ वटा कम्पनीहरूको लकइन अवधि सकिंदैछ।
जसमध्ये एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको १ करोड ४५ हजार कित्ता शेयरको लकइन अवधि असार १९ गते सकिंदै छ।
असार २ गते विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लकइन अवधि सकिंदैछ। हाल यस कम्पनीको संस्थापक समूहको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको ११ लाख २९ हजार ८०० कित्ता शेयर लकइनमा रहेको छ।
यता असार ७ गते दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि सकिंदैछ। हाल यस कम्पनीको संस्थापकको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको ७ लाख ५६ हजार ४२० कित्ता र कम्पनीका कर्मचारीको ६५ हजार ८६५ कित्ता शेयर लकइनमा रहेको छ।
त्यस्तै हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ शेयरको लकइन अवधि असार २७ गते समाप्त हुँदैछ। यस कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ८१ हजार ७५० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर लकइनमा रहेको छ।
त्यसैगरी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन अवधि असार २९ गतेबाट सकिंदैछ। यस कम्पनीको गत तीन वर्षदेखि संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, कम्पनीका कर्मचारीको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको १३ लाख ५० हजार कित्ता शेयर लकइनमा रहेको छ।
यता असार ३१ गते अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि समाप्त हुँदैछ। यस कम्पनीको संस्थापक शेयरधनीको ३० लाख कित्ता, कम्पनीका कर्मचारीको ३० हजार कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको ५ लाख कित्ता शेयर लकइनमा रहेको छ।