मोटरस्पोर्ट्सका लागि नीतिगत सहकार्यको लागि नासा नेपालको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटर, मोटरसाइकल, पावरबोटिङ, कार्ट्स, सीम रेसिङ, ड्रोन लगायतका मोटरस्पोर्ट्ससँग सम्बन्धित इभेन्ट तथा प्रतियोगिताहरु वैधानिक प्रक्रियामार्फत मात्रै सञ्चालन गर्न आग्रह गरेको छ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी वक्तव्यमा भनिएको छ, “व्यवसायिक स्वार्थका लागि खेलकुदका मूल्य र मान्यता, खेलाडीको सुरक्षा तथा पेशागत विकासमाथि खेलवाड गर्नु स्वीकार्य छैन।” उनले मोटरस्पोर्ट्ससम्बन्धी जुनसुकै गतिविधि खेलकुद विकास ऐन २०७७, नियमावली २०७९ तथा सम्बन्धित कानुनी संरचनाभित्र रही मात्र गर्न सकिने स्पष्ट पारेका छन्।

नासा नेपाल राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम), पावरबोटिङ युनियन (यूआईएम), अन्तर्राष्ट्रिय टुरिजम एलायन्स (एआईटी) लगायतका विश्व संगठनसँग आबद्ध आधिकारिक निकाय हो। यसले खेलकुद, अटोमोबाइल, मोबिलिटी, रोड सेफ्टी र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ।

संघले पछिल्लो समय नियमनबाहिर र कानुनविपरीत भइरहेको कतिपय रेसिङ, टुरिङ तथा ¥याली इभेन्टप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ती गतिविधिले खेलाडी, चालक र प्राविधिकको सुरक्षा तथा देशको मोटरस्पोर्ट्स छविमा नकारात्मक प्रभाव पारिरहेको जनाएको छ।

“अवैधानिक इभेन्टहरूले खेल क्षेत्रको दीर्घकालीन विकास, अन्तर्राष्ट्रिय सहभागिता र दिगो पर्यटन प्रवर्द्धनमा अवरोध गर्छन्,” वक्तव्यमा उल्लेख छ, “यस्ता गतिविधिका विरुद्ध संघ कानुनी उपचार खोज्न बाध्य हुनेछ।”

संघले इभेन्ट आयोजना गर्न चाहने क्लब, कम्पनी र प्रवर्द्धकहरुलाई सम्बन्धित सरकारी निकाय तथा प्रादेशिक अटोमोबाइल संघमार्फत स्वीकृति लिई सहकार्य गर्न समेत आह्वान गरेको छ।

रिसालले भने, “संघ वैधानिक प्रक्रिया पूरा गरी खेलकुदमार्फत देशको पर्यटन, साहसिकता र मोटरस्पोर्ट्सको विकासमा योगदान पुर्‍याउन चाहने सबैसँग साथ र सहकार्य गर्न तयार छ।”

नेपालको मोटरस्पोर्ट्सको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन संघले सबै सरोकारवालाहरुलाई वैधानिक ढंगबाट अघि बढ्न आग्रह गर्दै राष्ट्रिय हितविपरीतका कुनै पनि क्रियाकलापप्रति कडा निगरानी राख्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार