काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न आग्रह गरेको छ । कम्पनीले हालै सूचना जारी गर्दै ३५.५३ प्रतिशत नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई सम्पर्क गर्न भनेको छ ।
कम्पनीको २०७६ साल साउन २४ गते बसेको १७ औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ३५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । उक्त लाभांश पारित भएको पाँच वर्ष बितिसक्दा पनि केही सेयरधनीले रकम लिन नआएकाले कम्पनीले यथाशीघ्र लिन आग्रह गरेको हो ।
यसका साथै, कम्पनीले आईपीओ निष्कासन गरी बाँडफाँड गर्दाको बखत आंशिक रूपमा सेयर परेको वा सेयर नपरेको रकमसमेत केही सेयरधनीले फिर्ता लिन बाँकी रहेको जनाएको छ । त्यतिबेला आईपीओमा अनलाइनबाट आवेदन दिने प्रचलन नभएको र बैंकमा रकम जम्मा गर्नुपर्ने भएकाले, आईपीओ नपरेका लगानीकर्ताको रकम फिर्ता लिन कम्पनीले बोलाएको हो ।
यसरी लाभांश वा आईपीओको रकम फिर्ता लिन बाँकी रहेका सेयरधनीहरूलाई अबको एक महिनाभित्र आवश्यक कागजातसहित कम्पनीमा सम्पर्क गरी रकम फिर्ता लिन आग्रह गरिएको छ ।