CLI
Global College

बेनी बजारमा रातो च्याउको माग बढी

म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन्। रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।

यही भदौ १० गते बेनी बजारमा रातो च्याउ बेच्न आएका रघुगंगा गाउँपालिका-८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो। कुइनेमंगलेको जंगलबाट ल्याएको २० किलो रातोच्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर किनेका उनले बताए।

‘गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिने रातो च्याउ सडक तथा यातायातको सुविधासँगै सहर, बजारमा पुग्न थालेको छ’, छन्त्यालले भने, ‘खोज्न सक्नुपर्‍यो च्याउ जति पनि बिक्री हुन्छ।’

उनका अनुसार समुद्री सतहबाट तीन हजार मिटर उचाइका जंगलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा बर्खायाममा आफै उम्रने रातोच्याउ तरकारीका रूपमा उपभोग हुन्छ।

बेनीमा ताजा रातो च्याउ प्रतिकिलो एक हजार रूपैयाँका दरले किनबेच भइरहेको छ। सुकुटी बनाइएको प्रतिकिलो चार हजार रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म पर्ने धवलागिरि गाउँपालिका-१ गुर्जाका भविन छन्त्यालले बताए। सबैभन्दा बढी जंगली च्याउ टिपेर बजारमा बेच्ने गुर्जाका बासिन्दा हुन्। गुर्जाका बासिन्दाले च्याउ बेचेर वार्षिक दुई-तीन लाख रूपैयाँसम्म आम्दानी गर्ने उनले जानकारी दिए।

रातो च्याउ स्वादीलो र पोषिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने बेनीकी होटल व्यवसायी नौलीमाया पुनले बताइन्। ‘जंगलबाट टिपेको च्याउ छिट्टै बिग्रने भएकाले संकलकहरूले टुक्रा पारेर घाममा सुकाउँछन्। घाम नलागेका बेला भने अँगेनाको माथि भार बनाइ भकारी राख्ने र त्यसैमाथि च्याउ राखेर ताप र धुवाँले सुकाउँछन्’, पुनले भनिन्।

रातो च्याउमा प्रोटिन र विभिन्न आवश्यक तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउखेती प्रविधि पुस्तिकामा उल्लेख छ। रातो जंगली च्याउ उम्रिन निश्चित तापक्रम र आद्रता चाहिन्छ। मध्य जेठदेखि मध्य असारसम्म र मध्य भदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो। म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, मुना, कुइने, मंगले, घ्याँसीखर्क, राम्चे, घोडेपानीलगायत माथिल्लो भेगका बस्ती तथा जंगलमा रातोच्याउ व्यापारिक रूपमा संकलन हुन्छ।

डिभिजन वन कार्यालयका अनुसार म्याग्दीका जंगलबाट वार्षिक ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ। जिल्लाबाहिर बिक्रीका लागि पठाउँदा च्याउमा वनले प्रतिकिलो १० रूपैयाँका दरले राजस्व लिने गरेको छ। जिल्लाभित्र च्याउ संकलन र बिक्रीका लागि अनुमति चाहिँदैन। सहर, बजारमा बस्ने लेकाली तरकारीको स्वाद नबिर्सेका उपभोक्ताले गाउँबाट रातो च्याउ किनेर लैजाने वा आफन्तमार्फत मगाउने व्यवसायी छन्त्यालले बताए।

‘रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ। बस्तीबाट टाढाको जंगलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन्छ, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्न सजिलो छैन। रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने हुँदैन’, उनले भनिन्।

Leave Your Comment

Related News