काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो लाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उनलाई भेनेजुएलामा स्वतन्त्र र निष्पक्ष चुनावको मागका लागि अहिंसात्मक रूपमा संघर्ष गर्ने साहसी नेतृका रूपमा सम्मान गरेको हो।
माचाडोले राष्ट्रपति निकोलास मदुरोको अधिनायकवादी शासनविरुद्ध लोकतन्त्र र मानवअधिकारका पक्षमा लामो समयदेखि अभियान चलाई आएकी छिन् । चुनावमा उम्मेदवारी दिन नपाएपछि पनि उनले देश नछोडी आफ्नो आन्दोलन निरन्तर जारी राखेकी थिइन्। समितिले उनलाई “विभाजित विपक्षी शक्तिलाई एकतामा बाँध्ने मुख्य व्यक्तित्व” भनेर प्रशंसा गरेको छ।
गत वर्षको विवादास्पद चुनावमा मदुरोलाई विजेता घोषणा गरिएको थियो, जसपछि देशभर प्रदर्शन भई २० जनाभन्दा बढीको मृत्यु भएको थियो। यसबीच, केहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि पुरस्कारका सम्भावित उम्मेदवारका रूपमा देखेका थिए, तर अन्ततः पुरस्कार माचाडोलाई प्रदान गरिएको हो।


