काठमाडौं । सिटि होटल लिमिटेडले केही सञ्चारमाध्यमहरूमा प्रकाशित लक-इनमा रहेको संस्थापक समूहको शेयर बिक्री सम्बन्धी समाचारहरूलाई पूर्णतः गलत, भ्रामक तथा तथ्यहीन भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारहरूले आम लगानीकर्ता, शेयरधनी तथा सरोकारवालामा भ्रम सिर्जना गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा सिटिले भनेको छ, ” केही सञ्चारमाध्यमहरूमा सिटि होटल लिमिटेडले कानून विपरीत लक-इनमा रहेको संस्थापक समूहकोशेयर बिक्री गरेको भनी प्रकाशित समाचारहरूप्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारहरूमा उल्लेखित विवरण पूर्णतः गलत, भ्रामक एवं तथ्यहीन रहेकाले यस विज्ञप्तिमार्फत आमलगानीकर्ता, शेयरधनी तथा सरोकारवालासमक्ष सत्य तथ्य स्पष्ट पार्न चाहन्छौं ।
१. यस कम्पनीले सुरुवातबाट नै लक-इन सम्बन्धी नियमको पूर्ण रूपमा पालना गर्दै आएको छ ।
२. यस कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (“सिडिएससी”) समक्ष पत्राचार गरी संस्थापक समूहको शेयरको अद्यावधिक विवरण माग गरेको थियो । सोको जवाफस्वरूप मिति २०८३।०१।२१ मा सिडिएससीद्वारा प्राप्त विवरणअनुसार यस कम्पनीका सम्पूर्ण २,७२,१९,३२८ कित्ता संस्थापक र कर्मचारी समूहका शेयरहरू सन् २०२६ मे १८ (मिति २०८३।०२।०४) सम्म लक इनमा रहेको र हाल कम्पनीको लकइनमा रहेको शेयर कुल जारी शेयरको ९०.४० % (संस्थापक र कर्मचारीसमेत) रहेको छ । तसर्थ, सिडिएससीको आधिकारिक विवरणबाट हाल कम्पनीको सम्पूर्ण संस्थापक समूहको शेयर नियमानुसार लक-इनमा रहेको र सोमा कुनै पनि कैफियत नरहेको प्रमाणित हुन्छ ।
३. लक-इनमा रहेको हक प्रद शेयर बिक्री गरिएको भन्ने सम्बन्धमा यस कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई साविक
शेयरधनीहरूलाई हक प्रद शेयर जारी गरेको हो। सो क्रममा केही शेयर बिक्री नभई बाँकी रहन गएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन नं. १५ बमोजिम कम्पनीले नेपाल धितोपत्र बोर्डलाईयथावत् जानकारी गराई लिलाम बढाबढमार्फत उक्त शेयर बिक्री गरेको हो । सो लिलाम प्रक्रियामा लगानीकर्ताहरूले आ-आफ्नो मूल्याङ्कनका आधारमा न्यूनतम अति मूल्य रु. १०० भन्दा माथि आफूलाई उचित लागेको मूल्यमा बोलकबोल गरी शेयर खरिद गर्नुभएको र सोही प्रस्तावको आधारमाशेयर जारी गरिएको हो ।
कम्पनीले लिलाम बढाबढ गर्नुपूर्व मिति २०८२/०७/१६ मा प्रकाशित सार्वजनिक सूचनामा संस्थापक तथा कर्मचारी समूहतर्फका
शेयरहरू नियामकीय आवश्यकता बमोजिम मिति २०८३।०२।०४ सम्म लक-इनमा रहने व्यहोरा स्पष्ट रुपमा उल्लेखित छ । हक प्रद शेयरसम्बन्धी सम्पूर्ण सूचनाहरू अहिले पनि कम्पनीको आधिकारिक वेबसाइटमार्फत सार्वजनिकरूपमा उपलब्ध छन् ।
यसरी कम्पनीले सम्पूर्ण नियामकीय व्यवस्था पूरा गरी हक प्रद शेयर जारी गरेको अवस्थामा कम्पनी तथा यसका पदाधिकारीहरू
विरुद्ध भ्रामक एवं आधारहीन समाचार प्रकाशित हुँदै आएको हुँदा उक्त विषयलाई कम्पनीले अत्यन्त गम्भीरतापूर्वक लिएको छ । साथै, यस्ता भ्रामक समाचार प्रकाशन गर्ने कार्यमा संलग्न सबै विरुद्ध कम्पनीले आवश्यक कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।
तसर्थ, यस कम्पनी आफ्ना समस्त शेयरधनी महानुभावहरू, लगानीकर्ता तथा सरोकारवालासमक्ष यस प्रकारका निराधार रभ्रामक समाचारहरूमा विश्वास नगर्न तथा कम्पनीका आधिकारिक सूचना एवं विज्ञप्तिलाई मात्र विश्वसनीय स्रोतको रूपमा ग्रहण गर्न हार्दिक अनुरोध गर्दछ ।”


