काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र ललितपुरको ग्वार्कोस्थित द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) बीच संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सार्वजनिक निष्काशन (आईपीओ) मा लैजाने सम्बन्धी ‘रोड टु आईपीओ’ सम्झौता भएको छ ।
सम्झौता अनुसार, नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने, सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारी गर्ने र नियमनकारी निकायहरुबाट अनुमति लिने लगायतका सम्पूर्ण समन्वयकारी र सहयोगी भूमिका निर्वाह गर्नेछ ।
सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
‘रोड टु आईपीओ’ अन्तर्गतको यो प्रक्रिया पूरा भएपछि कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्रान्ड ‘रोयल टुलिप’ को नामबाट सञ्चालित यो होटल ललितपुरको ग्वार्कोमा अवस्थित छ ।
आधुनिक वास्तुकलाले युक्त यो पाँचतारे होटलमा ३०८ वटा सुविधासम्पन्न कोठा र सुइटहरू रहेका छन्, जुन नेपालकै सबैभन्दा बढी कोठा भएको होटलमध्ये एक हो ।
होटलमा साना-ठूला गरी १० वटा आधुनिक बैठक हलहरू, विश्वस्तरीय भोजनका लागि इन-हाउस रेष्टुरेन्ट, अत्याधुनिक हेल्थ क्लब, स्पा र कायाकल्प केन्द्र जस्ता सुविधाहरू उपलब्ध छन् ।


