CLI
Global College

मकालु वाइन इन्डस्ट्रीजले आईपीओ जारी गर्ने

काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो।

आईपीओ निष्कासनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड लाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइन इन्डस्ट्रिजका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको मकालु वाइन इन्डस्ट्रिजले विगत ३१ वर्षदेखि समुद्री सतहबाट करिब २,८०० मिटर उचाइमा रहेको क्षेत्रको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंसेलुबाट अर्गानिक ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ।

कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय वाइन उत्पादन गर्दै आएको र करिब २० रोपनी आफ्नै जग्गा स्वामित्वमा रहेको जनाएको छ।

कम्पनीमा देवनत्सी भेन्चर, हारभेस्ट भेन्चर, बिर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायतका संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। साथै, निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्कासनलाई नेपालको अर्गानिक वाइन उद्योगलाई पुँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्कासन तथा बिक्री व्यवस्थापन, शेयर रजिष्ट्रेशन, योजना व्यवस्थापन, डिपोजिटरी सेवा तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।

Leave Your Comment

Related News