CLI

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

काठमाडौं ।नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ।

नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको छ, जसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको हो।

स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन्।

उनले एक्स्पोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उल्लेख गरीन्। उनले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको बताइन्। उपलब्ध स्थान तथा सम्भावनाको मूल्याङ्कन गरी विशेषगरी नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकतामा राखेर यस्ता अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने उनले जानकारी दिइन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए ।

Leave Your Comment

Related News