CLI

करिब साढे तीन खर्ब गुमाए लगानीकर्ताले सेयर बजारबाट

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजार निरन्तर आरोलो लागेको छ । रास्वपाको बलियो सरकार बने पछि नेपाल स्टक एक्सचेञ्ज , नेप्सेमा सुधार आउने र बजार बढ्ने अपेक्षा लगानीकर्ताहरुको रहेको थियो । तर नेप्से निरन्तर आरोलो लाग्दा नयाँ सरकार गठनपछिका तीन महिनामा सेयर लगानीकर्ताले करिब साढे तीन खर्ब रुपैयाँ गुमाएका छन्। अर्थात लगानीकर्ताको पुँजी बजारको सम्पत्ति करिब साढे तीन खर्ब रुपैयाँले घटेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत १५ गते २ हजार ८७९.११ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै शुक्रबार २ हजार ६५३.४० बिन्दुमा झरेको छ । यही अवधिमा सेयर बजार पुँजीकरण पनि करिब ४८ खर्ब ९४ अर्ब ४८ करोड रुपैयाँबाट घटेर ४५ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यो अवधिमा लगानीकर्ताले ३ खर्ब ३५ अर्ब ३९ करोड बढी गुमाएका छन् । पछिल्लो एक साता निरन्तर घटेको सेयर बजार बुधबार र बिहीबार बढेको छ । बुधबार ४४.५१ र बिहीबार ८.७८ अंकले बढेको हो ।

जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै नयाँ सरकार गठन हुँदा र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजारमा सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएको थियो। राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्रमैत्री आर्थिक सुधारको संकेतले प्रारम्भिक रूपमा लगानीकर्तामा उत्साह देखिए पनि त्यो लामो समय टिक्न सकेन।

बजेटमार्फत पुँजीगत लाभकरसम्बन्धी कानुनी स्पष्टता दिइए पनि लगानीकर्ताले अपेक्षा गरेका व्यापक सुधार भने हुन सकेनन्। पछिल्लो समय वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण तथा उद्योग–व्यवसायसँग सम्बन्धित अनुसन्धान र कानुनी कारबाही तीव्र बन्दा बजारमा मनोवैज्ञानिक दबाब र अन्योलता बढेको लगानीकर्ताहरूको भनाइ छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि संसद्मा मनोवैज्ञानिक त्रासका कारण बजार प्रभावित भएको स्वीकार गरेका थिए।

लगानीकर्ताका अनुसार सरकार गठनसँगै निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण, नीतिगत स्थिरता र आर्थिक गतिविधिमा सुधार हुने अपेक्षा गरिएको थियो। तर बजेटमार्फत पुँजी बजारलाई प्रत्यक्ष राहत दिने कार्यक्रम नआउनु, समग्र अर्थतन्त्रमा उल्लेख्य सुधार नदेखिनु तथा लगानीमैत्री नीतिको स्पष्ट खाका सार्वजनिक नहुनुले बजारमा निराशा बढाएको छ।

सरकारले निजी क्षेत्रलाई साझेदारभन्दा बढी शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले पनि लगानीकर्ताको विश्वास कमजोर बनाएको सेयर बजार लगानी समूहका एक पूर्वअध्यक्षले बताए ।  पूर्वअध्यक्षका अनुसार अर्थतन्त्रमा करिब ८० प्रतिशत योगदान गर्ने निजी क्षेत्रका समस्या र सुझावलाई सरकारले पर्याप्त प्राथमिकता नदिँदा विश्वासको वातावरण निर्माण हुन सकेको छैन।

यसैबीच, वित्तीय अनुसन्धान र कानुनी कारबाहीको प्रभावले सेयर बजारमा लगानी गरेका निजामती कर्मचारी, प्रहरी तथा नेपाली सेनाका कर्मचारीलगायत केही लगानीकर्ताले जोखिम कम गर्न सेयर बिक्री गरेको र त्यसले पनि बजारमा थप दबाब सिर्जना गरेको लगानीकर्ताको विश्लेषण छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले  सरकारले मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा ध्यानकेन्द्रित गरेको बताएका  थिए। ‘सेयर बजारको अल्पकालीन उत्तारचढाबभन्दा परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य हामीले राखेका छौं  । हामी एकएक घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ वा तल झर्छ भनेर हेर्दैनौं, ’ प्रधिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले भनेका थिए ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले पनि बजारमा अपेक्षित सकारात्मक सन्देश दिन नसकेको विश्लेषण गरिएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त रहनु, आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार नहुनु तथा लगानीको वातावरण पूर्ण रूपमा सहज नबन्नुले सेयर बजारमा नयाँ लगानी आकर्षित हुन सकेको छैन।

पछिल्ला महिनामा सूचीकृत कम्पनीहरूको चौथो त्रैमासिक नाफा वृद्धिको गति पनि कमजोर देखिएको छ। बैंक तथा वित्तीय संस्थाको नाफा विस्तार सुस्त हुनु, उत्पादनमूलक क्षेत्रको आयमा दबाब पर्नु र लाभांश क्षमताप्रति अन्योल कायम रहनुले पनि लगानीकर्र्ता ‘पर्ख र हेर’को अवस्थामा छन्।

सेयर बजार घट्दा त्यसको प्रभाव केवल लगानीकर्तामा सीमित रहँदैन। बजार पुँजीकरण घट्दा कम्पनीहरूको मूल्यांकन कमजोर हुन्छ। यस्तो हुँदा नयाँ सार्वजनिक निष्कासन (आइपिओ) तथा थप सेयर निष्कासनमार्फत पुँजी जुटाउने क्षमता प्रभावित हुन्छ। साथै बैंक तथा वित्तीय संस्थामा धितो राखेर लगानी गरेका लगानीकर्तामाथि पनि थप दबाब पर्न सक्छ। बजारमा निरन्तर गिरावट आउँदा उपभोक्ता तथा लगानीकर्ताको आत्मविश्वास कमजोर हुने भएकाले समग्र आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।

पछिल्लो समय बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिता उल्लेख्य रहेकाले उनीहरूको मनोविज्ञानले पनि बजारको दिशामा ठुलो प्रभाव पारिरहेको छ। निरन्तर गिरावटका कारण धेरै लगानीकर्ता नोक्सानी बढ्ने डरले बिक्रीतर्फ उन्मुख भएका छन्। नयाँ लगानीकर्ताले बजार प्रवेश गर्न हिच्किचाइरहेका छन्। पुराना लगानीकर्ताले पनि थप लगानी विस्तार गर्न सकेका छैनन्। लगातार सात कारोबार दिनदेखि ओरालो लागेको सेयर बजारमा बुधबार समान्य सुधार देखिएको छ।
नेप्से परिसूचक बुधबार ४४.५९ अंकले बढेर २६५२.९३ र बिहीबार ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो दिन मंगलबार ३ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बुधबार ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता सेयर ५६ हजार ८५० पटक किनबेच हुँदा कुल ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै बिहीबार ३५९ वटा कम्पनीका ८९ लाख ६४ हजार कित्ता सेयर ४३ हजार १३१ पटक किनबेच हुँदा कुल ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

बिहीबार ‘स्नो रिभर्स’को सेयर सकारात्मक ‘सर्किट लेभल’मा कारोबार हुँदै ६४ रुपैयाँ ८० पैसा बढेर ४९६ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै ‘कालांगा हाइड्रो’को सेयरमूल्य पनि‘सर्किट लेभल’मा कारोबार हुँदै ४४ रुपैयाँ ३० पैसा बढेर ३३९ रुपैयाँ ७० पैसा र स्नो रिभर लिमिटेडको १४.९९ प्रतिशतले बढेर ६०० रुपैयाँ ६० पैसामा कारोबार भएको हो ।

बिहीबार बजार सुधारको प्रभाव ५ वटा उपसमूहमा देखिदाँ बाँकी ८ वटा उपसमूहमा भने गिरावट आएको छ। वाणिज्य बैंकहरूको मूल्य बढ्दा धेरैजसो कम्पनीको मूल्य घटेपनि बजार बढेको छ । बैंकिङ समूहकै कारण बजार हरियोमा बन्द भयो । सो समूहको सूचक सबैभन्दा धेरै २.०४ प्रतिशत बढ्यो । फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार ०.५० प्रतिशत घटे । बुधबार र बिहीबार सेयर बजार बढे पछि लगानीकर्तामा गुमेको विश्वास फिर्ता हुने संकत देखिएको थियो । तर शुक्रबार बजार घटे सँगै लगानीकर्ताले सेयर बजारमा लगानी गर्ने वातावरण बन्न सकेन ।

शुक्रबार ८.३० अंकले घटेर नेप्से परिसूचक २६५३.४० विन्दुमा पुगेर बन्द भएको हो । भने सेन्सेटिभ इन्डेक्स २.६५ अंकले घटेर ४५९.८१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.६४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९० अंकले घटेको हो । शुक्रबार ३४५ वटा कम्पनीको ४६ हजार २३४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख पुग्यो । जुन बिहीबारको तुलनामा २९ करोड ४६ लाखले बढी हो ।

बिहीबार कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख रहेको थियो । यसदिन १३ उपसमूह मध्ये ५ बढेको छ भने ८ घटेको छ । विकास बैंक १, वित्त २६, जलविद्युत ६, उत्पादन ७ र अन्य सूमह १७ अंकले बढ्दा बैंकिङ १४, होटल र पर्यटन २८, लगानी ०.६१, जीवन बीमा ८७, उत्पादन र प्रशोधन ४७, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा ३ र अन्य समूह पनि ३ अंकले घटेको छ। सरकारले सेयर बजारमा गुमेको लगानी विश्वासलाई पुनः ल्याउन आवश्यक देखिएको छ ।

लगानीकर्ताहरूका अनुसार सेयर बजार केवल कम्पनीहरूको वित्तीय अवस्था वा सूचकाङ्कले मात्र प्रभावित हुँदैन। सरकारको नीति, कार्यान्वयन क्षमता, निजी क्षेत्रप्रतिको दृष्टिकोण, वित्तीय प्रणालीमा सुधार तथा लगानीमैत्री वातावरणप्रतिको विश्वासले पनि बजारको दिशा निर्धारण गर्छ। यी क्षेत्रमा अपेक्षित सुधारको स्पष्ट संकेत नआउँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ।

आगामी आर्थिक वर्षको बजेटपछि पनि पुँजी बजार सुधार, संस्थागत लगानीकर्ता विस्तार, कर नीतिको पुनरवलोकन, नयाँ वित्तीय उपकरणको विकास तथा दीर्घकालीन पुँजी बजार सुधारको स्पष्ट रोडम्याप प्रस्तुत हुन नसकेकाले बजारले अपेक्षित गति लिन नसकेको लगानीकर्ताहरूको निष्कर्ष छ।

Leave Your Comment

Related News