काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८२ करोड रुपैयाँको व्यापार गरेको छ। महिन्द्रा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर तथा स्पेयर पार्टसको आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएको यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।
त्यस्तै, कम्पनीको व्यापार सन् २०२४ मा १ अर्ब ८ करोड ५० लाख, २०२३ मा १ अर्ब ८ करोड २० लाख, २०२२ मा १ अर्ब ४१ करोड ३० लाख र २०२१ मा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो। पछिल्लो समय वित्तीय सुधार भएसँगै इक्रा नेपालले कम्पनीको ६३ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जालाई [ICRANP] A4+ रेटिङ प्रदान गरेको छ।
कम्पनीको ब्याज तिर्न सक्ने क्षमता आर्थिक वर्ष २०२५ मा २.२ गुणा रहेकोमा २०२६ मा बढेर २.३ गुणा र किस्ता तिर्न सक्ने क्षमता २.३ गुणाबाट सुधार भई २.५ गुणा पुगेको छ भने सञ्चालन नाफा मार्जिन पनि ४.२ प्रतिशतबाट बढेर ५.४ प्रतिशत पुगेको छ।
सन् १९५६ मा स्थापना भई पछि अग्नि ग्रुपद्वारा अधिग्रहण गरिएको यस कम्पनीमा क्याबिनेट श्रेष्ठको ४१ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३२ प्रतिशत र अर्जुनप्रसाद शर्माको २७ प्रतिशत स्वामित्व रहेको छ भने देशभर यसका आफ्नै १७ वटा सर्भिस सेन्टर र ३५ वटा प्रादेशिक डिलरसिप शाखाहरू सञ्चालनमा छन्।



