CLI

चाबहिल–गौशालामा ६५ अर्बको भूमिगत सुरुङमार्ग प्रस्ताव, ट्राफिक जाम समाधानका लागि दुई तहको ‘अन्डरग्राउन्ड’ सडक बनाइने

काठमाडौं । राजधानीको सबैभन्दा व्यस्त सडक खण्डमध्ये एक चाबहिल–गौशालामा दैनिक हुने सवारी जामलाई दीर्घकालीन रूपमा समाधान गर्न अर्बौं रुपैयाँ लागतको भूमिगत सुरुङमार्ग निर्माणको तयारी गरिएको छ। काठमाडौं चक्रपथअन्तर्गत पर्ने यस खण्डमा हालकै सडकमुनि दुई तहको सुरुङमार्ग निर्माण गर्ने प्रस्ताव जापानी सहयोग नियोग (जाइका)ले तयार गरिरहेको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामा समेटिएको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ। प्रारम्भिक प्रस्तावअनुसार आयोजनाको लागत करिब ६८.५ अर्ब जापानी येन (झण्डै ६५ अर्ब रुपैयाँ) पुग्ने अनुमान गरिएको छ।

विश्व सम्पदा क्षेत्र भएकाले सुरुङ नै विकल्प

चाबहिल–गौशाला सडक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ, बौद्ध, जोरपाटी तथा पूर्वी काठमाडौंलाई जोड्ने प्रमुख प्रवेशमार्ग हो। दैनिक हजारौं सवारी यही मार्गबाट आवतजावत गर्ने भएकाले सामान्य समयमै अत्यधिक ट्राफिक चाप रहने र कार्यालय खुल्ने तथा बन्द हुने समयमा लामो जाम नियमितजस्तै हुने गरेको छ।

तर यस क्षेत्रमा सडक विस्तार गर्न पर्याप्त खाली जग्गा छैन। सडक दुवैतर्फ घना बस्ती, व्यापारिक भवन, अस्पताल, विद्यालय तथा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्र रहेकाले फ्लाइओभर वा अन्य माथिल्लो संरचना निर्माण व्यवहारिक नहुने निष्कर्ष जाइकाले निकालेको छ।

यही कारण हालकै सडकलाई यथावत् राख्दै त्यसको मुनि भूमिगत सुरुङमार्ग निर्माण गर्ने विकल्पलाई सबैभन्दा उपयुक्त समाधानका रूपमा अघि सारिएको हो।

प्रस्तावित सुरुङमार्ग विश्व सम्पदा क्षेत्रभित्र पर्ने भएकाले निर्माणअघि हेरिटेज इम्प्याक्ट एसेसमेन्ट (एचआईए) अर्थात् विश्व सम्पदा प्रभाव मूल्यांकन तथा पुरातात्त्विक अध्ययन अनिवार्य रूपमा गर्नुपर्ने जाइकाले उल्लेख गरेको छ।

यस अध्ययनबाट सुरुङ निर्माणले पशुपतिनाथ क्षेत्रको सांस्कृतिक तथा पुरातात्त्विक महत्वमा पार्ने प्रभाव मूल्यांकन गरिनेछ।माथिल्लो सतह धेरै नखनी भूमिगत रूपमा सुरुङ खन्न सकिने भएकाले निर्माण अवधिभर ट्राफिक सञ्चालनमा न्यून असर पर्ने अपेक्षा गरिएको छ।

प्रस्तावित डिजाइनअनुसार सुरुङमार्ग दुई तहको हुनेछ।

माथिल्लो सुरुङबाट चाबहिल (उत्तर) तर्फ जाने सवारी सञ्चालन हुनेछ। तल्लो सुरुङबाट गौशाला (दक्षिण) तर्फ आउने सवारी गुड्नेछन्।

दक्षिणतर्फको चक्रपथसँग सहज रूपमा जोड्न सकिने भएकाले यस्तो डिजाइन प्रस्ताव गरिएको जाइकाले जनाएको छ।

सुरुङ खन्ने टीबीएम सञ्चालनका लागि चाबहिल चोकको उत्तरतर्फ ‘लन्च स्याफ्ट’ निर्माण गरिनेछ। त्यहीँबाट सुरुङ खन्दै गौशालतर्फ अघि बढाइने योजना छ।

यसका लागि केही जग्गा अधिग्रहण आवश्यक पर्नेछ भने रिटेनिङ वाल निर्माण गरी आवश्यक चौडाइ सुनिश्चित गरिनेछ।

निर्माणका क्रममा सुरुङबाट निस्कने ठूलो परिमाणको माटो व्यवस्थापन, प्रिकास्ट कंक्रीट सेग्मेन्ट ढुवानी तथा अस्थायी भण्डारणका लागि छुट्टै स्थान आवश्यक पर्नेछ।

दैनिक व्यस्त सडक भएकाले टीबीएमको उत्खनन गति, हेभी ट्रक सञ्चालनको समय तथा ट्राफिक व्यवस्थापनलाई समेटेर विस्तृत यातायात योजना बनाउनुपर्ने जाइकाले सुझाव दिएको छ।

साथै आयोजना अघि बढाउनुअघि चाबहिल चोकको पुनर्संरचना समेत आवश्यक पर्ने उल्लेख गरिएको छ।

प्रस्तावित सुरुङमार्ग केवल सवारी आवागमनका लागि मात्र नभई आधुनिक सहरी पूर्वाधारलाई समेत समेट्ने गरी डिजाइन गरिएको छ।

आगलागी वा अन्य आकस्मिक अवस्थाका लागि तल्लो सुरुङमार्गमुनि छुट्टै आपत्कालीन उद्धार तथा निकास मार्ग निर्माण गरिने प्रस्ताव छ।

यससँगै विद्युत्, खानेपानी, दूरसञ्चार तथा ढललगायतका सेवा एउटै साझा युटिलिटी करिडोरमार्फत व्यवस्थित गर्न सकिने अपेक्षा गरिएको छ।

प्रस्तावअनुसार सुरुङमार्गको कुल लम्बाइ १ हजार ५६३ मिटर हुनेछ भने चौडाइ १५.५ मिटर रहनेछ।

सुरुङमार्ग ६.५ मिटर चौडाइका दुईवटा सवारी लेन, ०.२५ मिटरका भित्री सोल्डर, १ मिटरका बाहिरी सोल्डर निर्माण गरिनेछन्।

६५ अर्ब लागत, जग्गा अधिग्रहणमै अर्बौं खर्च

आयोजनाको प्रारम्भिक लागत ६८ अर्ब ५ करोड जापानी येन (करिब ६५ अर्ब रुपैयाँ) अनुमान गरिएको छ।

यसमा निर्माण खर्च, आकस्मिक खर्च, डिजाइन तथा प्राविधिक सेवा, आयोजना व्यवस्थापन, मूल्य अभिवृद्धि कर (भ्याट), जग्गा खरिद तथा भवन क्षतिपूर्ति सबै समावेश छन्।

जग्गा अधिग्रहण र भवन क्षतिपूर्तिका लागि मात्रै करिब ०.९१ अर्ब जापानी येन आवश्यक पर्ने अनुमान गरिएको छ।

जाइकाले सन् २०२३ देखि काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनाको अध्ययन गरिरहेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार अन्तिम गुरुयोजना सन् २०२६ को अगस्टमा सरकारलाई बुझाइने कार्यतालिका छ।

गुरुयोजना स्वीकृत भएपछि मात्र चाबहिल–गौशाला भूमिगत सुरुङमार्गजस्ता दीर्घकालीन परियोजनाहरू कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News