CLI

इन्धनको मूल्यवृद्धि र यात्रु घटेपछि बुद्ध एयर इक्रा नेपालको विशेष निगरानीमा

काठमाडौं । निजी क्षेत्रको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरलाई  इक्रा नेपालले वाच विथ डेभलपिङ इम्प्लिकेसन्स रखेको छ । पश्चिम एसियाली द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धि र यात्रु सङ्ख्यामा आएको भारी गिरावटले नाफामा असर पार्ने देखिएकाले कम्पनीलाई निगरानीमा राखिएको इक्रा नेपालले जनाएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार बुद्ध एयरको दीर्घकालीन नेपाली रुपैयाँतर्फको ‘टर्म लोन’ अघिल्लो वर्षको १ अर्ब ३० करोड ९१ लाख रुपैयाँबाट घटेर १ अर्ब १३ करोड ६ लाख रुपैयाँ कायम भएको छ। त्यसैगरी, अमेरिकी डलरतर्फको दीर्घकालीन लोन पनि १ करोड ८७ लाख डलरबाट घटेर १ करोड ३७ लाख डलरमा झरेको छ।

अर्कातर्फ, अल्पकालीन कर्जातर्फ ८७ करोड रुपैयाँको ‘सर्ट टर्म लोन’ यथावत रहे पनि ओभरड्राफ्ट कर्जा सीमा ८२ करोड ९९ लाख रुपैयाँबाट बढेर ८७ करोड रुपैयाँ पुगेको छ। साथै, गैर-फण्डमा आधारित बैंक ग्यारेन्टी सीमा पनि उल्लेख्य रुपमा वृद्धि भई ८ करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुगेको छ।

यस समायोजनसँगै बुद्ध एयरको कुल नेपाली रुपैयाँतर्फको कर्जा सीमा ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँबाट केही बढेर ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ पुगेको छ भने अमेरिकी डलरतर्फको कुल कर्जा सीमा १ करोड ३७ लाख डलरमा सीमित भएको छ।

यसैबीच रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको कर्जा सीमाको रेटिङमा पुनरावलोकन गर्दै ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन्स’ (Watch with Developing Implications) मा राखेको छ। एजेन्सीले कम्पनीको दीर्घकालीन कर्जा सीमालाई [ICRANP] LA& र अल्पकालीन कर्जा सीमालाई [ICRANP] A1& रेटिङ प्रदान गर्दै यस किसिमको निगरानीमा राखेको हो।

तथ्याङ्क अनुसार बुद्ध एयरको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ रहेकोमा क्रमशः बढ्दै आव २०७९/८० मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ र आव २०८०/८१ मा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ पुगेको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेकोमा गत आर्थिक वर्ष २०८२/८३ को पहिलो साढे नौ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ। मुख्य पर्यटकीय याम भए पनि अप्रिल २०२६ मा बुद्ध एयरको यात्रु सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगभग ३३ प्रतिशतले घटेको छ।

चुनौतिका बाबजुद ऋणको अग्रिम भुक्तानी, नाफा सञ्चितीकरण र १.० गुणामा झरेको गेयरिङ अनुपातले कम्पनीको वित्तीय आधार बलियो बनाएको छ। आन्तरिक उड्डयन क्षेत्रमा ५७ प्रतिशत बजार हिस्सा ओगटेको बुद्ध एयर अझै पनि अग्रणी स्थानमा छ।

बुद्ध एयरले नाफाको करिब ९९ प्रतिशत हिस्सा सञ्चित राख्ने, पुराना कर्जाको अग्रिम भुक्तानी गर्ने र अल्पकालीन ऋण घटाउने नीति लिएको छ। घटेको ब्याजदर र भद्रपुर दुर्घटनाबापत प्राप्त बीमा क्षतिपूर्तिको रकमले ९.५ महिनाको अवधिमा ऋण भुक्तानी क्षमता २.० गुणा सहज देखिएको छ। यद्यपि सञ्चालन नाफा दरमा परेको दबाबका कारण वित्तीय सूचकहरू अघिल्लो वर्षको तुलनामा घटेका छन्।

नियन्त्रित कार्यशील पुँजी, आसामी तथा मौज्दातको सही व्यवस्थापनका कारण अप्रिल २०२६ को अन्त्यसम्ममा बुद्ध एयरको खुद कार्यशील पुँजी र सञ्चालन आम्दानीको अनुपात करिब ९ प्रतिशतमा सीमित छ। ७१ प्रतिशत नचलाएको ऋण सीमा (अतिरिक्त धितोका रूपमा राखिएका ऋणमुक्त जहाजसहित) र बीमा दाबी रकमबाट ऋणको समयअगावै गरिएको भुक्तानीले कम्पनीको तरलता मजबुत बनाएको छ। २९ वर्षको अनुभव, १५ वटा जहाजको क्षमता र अनुभवी व्यवस्थापन टोली कम्पनीका मुख्य सबल पक्ष हुन्।

इन्जिन मर्मतसम्भारको उच्च खर्चका कारण चालु आर्थिक वर्षको पहिलो साढे नौ महिनामा बुद्ध एयरको सञ्चालन नाफा दर घटेर करिब ८.२ प्रतिशतमा झरेको छ भने प्रतियात्रु नाफाको अन्तर (Margin) पछिल्लो ६ वर्षयताकै तल्लो विन्दुमा पुगेको छ। कम्पनीका लागि मुख्य चुनौतीका रूपमा यात्रु सङ्ख्या र अकुपेन्सी दरमा आएको गिरावट देखिएको छ। जहाजको सङ्ख्या घट्नुका साथै इन्धन महँगिएर भाडा दर बढेका कारण यात्रु सङ्ख्या समग्रमा १० प्रतिशत र वैशाख (अप्रिल) मा ३३ प्रतिशतले घटेको छ भने तीव्र प्रतिस्पर्धाका कारण यात्रु भरिने दर  ८३ देखि ८५ प्रतिशतमा सीमित हुन पुगेको छ।

यसैगरी, कुल बैंक ऋणको ६३ प्रतिशत हिस्सा र इन्जिन मर्मतसम्भारको खर्च अमेरिकी डलरमा हुने भएकाले वैदेशिक मुद्राको दरमा हुने उतारचढावले कम्पनीमा वित्तीय जोखिम बढाएको छ। आगामी दिनमा ऋण लिएर नयाँ जहाज थप्ने योजना रहेकाले उच्च इन्धन मूल्य र घट्दो यात्रु प्रवाहका बिच कम्पनीले आफ्नो ऋण भुक्तानी क्षमतालाई कसरी सन्तुलनमा राख्छ भन्ने कुरा नै मुख्य चासो र हेरचाहको विषय बनेको छ।

Leave Your Comment

Related News