काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ।
बोर्डले सार्वजनिक गरेको निर्णयअनुसार कारबाहीमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज परेका छन्।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ उपदफा (१) को खण्ड (ख) बमोजिम गरिएको कारबाहीअन्तर्गत सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख रुपैयाँ तथा हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ।
यसैबीच, बोर्डले शेयर रजिस्ट्रार सानिमा क्यापिटललाई पनि सचेत गराएको छ। सूचीकृत संस्था सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा तोकिएभन्दा बढी बोनस शेयर जम्मा भएको भेटिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार उक्त कार्य धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ को खण्ड (ख) बमोजिम अपेक्षित व्यावसायिक स्तर कायम नगरेको देखिएको छ। सोही आधारमा सञ्चालक बोर्डको २०८२ मंसिर १५ गतेको निर्णयअनुसार नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सानिमा क्यापिटललाई पहिलो पटकका लागि सचेत गराइएको हो।


