CLI

भक्तपुरमा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट, मनोहराको पोलीमर एण्ड वेभेरेज उद्योगलाई चेतावनी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरूबाट प्राप्त उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने क्रममा साउन १५ गते विशेष अनुगमन निरीक्षण सम्पन्न गरेको छ।  विभागको टोलीले उपत्यकाका दुई प्रमुख खाद्य उद्योगहरुको स्थलगत निरीक्षण गरी कैफियत भेटिएका उद्योगमाथि कडा कारबाही गर्नुका साथै आवश्यक निर्देशन जारी गरेको छ।

अनुगमनका क्रममा भक्तपुर जिल्लाको लिवालीस्थित जय शम्भु डेरी उद्योग प्रा. लि. मा भण्डारण गरी राखिएको दूधको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सो दूधमा फ्याट २.४ प्रतिशत र एसएनएफ  ७.८ प्रतिशत मात्र पाइएकाले तोकिएको न्यूनतम प्राविधिक मापदण्ड पूरा नगरेको पुष्टि भएको थियो। गुणस्तरहीन दूधले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले विभागले सोही मितिमा ४,००० लिटर दूध तत्काल रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा पूर्ण रुपमा नष्ट गरेको छ।

त्यसै गरी, काठमाडौँको कागेश्वरी मनोहरा स्थित ए वान पोलिमर एण्ड वेभरेज प्रा. लि. मा गरिएको निरीक्षणका क्रममा उद्योगको भौतिक संरचना र सरसफाइमा लापरबाही पाइएको छ। उद्योग परिसरका टाइलहरु टुटेफुटेको अवस्थामा रहेको, बाहिरी वातावरण अव्यवस्थित भएको र समग्र सरसफाइ सामान्य मात्र रहेको भेटिएकाले विभागले उद्योग सञ्चालकलाई नियमित रुपमा सरसफाइ गर्न र कामदारहरुको व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन कडा निर्देशन दिएको छ। साथै, सो उद्योगबाट उत्पादित सामग्रीको थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षणार्थ नमुना संकलन समेत गरिएको छ।

विभागले कुल दुईवटा खाद्य व्यवसायको अनुगमन गर्दै नियमानुसार प्रक्रिया अघि बढाएको छ र उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि यस्ता अनुगमन कार्यलाई निरन्तरता दिइने जनाएको छ।

Leave Your Comment

Related News