काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको इलिमिनेटर खेलमा चितवनले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौँले ९ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो।
काठमाडौँका विलियम बोसिस्टोले २८ बलमा २ छक्का र ३ चौकासहित सर्वाधिक ३७ रन बनाए। भीम सार्कीले १७ बलमा ३ छक्कासहित अविजित ३० तथा सहन अरशिकोले १३ बलमा १ छक्का र २ चौकासहित २४ रन जोडे। काठमाडौँको ब्याटिङ धराशायी बनाउने क्रममा चितवनका रिजान ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। यससँगै रिजानले यस संस्करणमा १५ विकेट पुर्याउँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थान कायम गरेका छन्।
चितवनकै कमलसिंह ऐरी र जनकपुर बोल्ट्सका राहुल यादव समान १२ विकेटसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सलाउद्दिन खान र कुशल मल्लले समान १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो।
चितवनका कमल मिजारले ५१ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक १२० रन बनाए। उनको यो स्कोर एनपीएल इतिहासकै व्यक्तिगत सर्वाधिक रन हो। त्यस्तै, रवि बोपाराले २ छक्का र ३ चौकासहित ५३ रनको योगदान दिए।
काठमाडौँका कप्तान करण केसी र राशिद खानले समान २ विकेट लिए। यस जितसँगै चितवन दोस्रो क्वालिफायरमा पुगेको छ। बिहीबार चितवनले सुदूरपश्चिम रोयल्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेता टोलीले शनिबार लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ।



