काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय समस्या तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादलाई सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिए।
राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा बाहिर परस्पर जोडिएको उल्लेख गर्दै उनले वातावरणीय झट्का तथा प्राकृतिक विपद्को सामना गर्न साझा जिम्मेवारी, समन्वित पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए।
नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने बताए। नेपाल र चीनबीच सदियौँदेखि सीमापार समुदाय, व्यापार, संस्कृति तथा जनस्तरको आदानप्रदानमार्फत सभ्यतागत सम्बन्ध कायम रहेको उनको भनाइ छ।
मन्त्री खनालले नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनको वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे। दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए।
सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार, प्रविधि सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उनले बताए।
चीनले प्रविधि तथा नवप्रवर्तनमा हासिल गरेको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताए। यस्तो सहकार्यले नेपालको जनसाङ्ख्यिक लाभांशलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सहयोग पुग्ने उनको भनाइ छ।
परराष्ट्रमन्त्री खनालले नेपाल–चीन सीमा व्यवस्थापनमा वातावरणीय पक्षलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। परम्परागत सीमा व्यवस्थापनसँगै ‘इकोलोजिकल बोर्डर म्यानेजमेन्ट’लाई अघि बढाउनुपर्ने उनले स्पष्ट पारे।
हिमाली क्षेत्रमा देखिने साझा जोखिम व्यवस्थापन, सीमापार कनेक्टिभिटी विस्तार तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा नेपाल र चीनबीच थप सहकार्य आवश्यक रहेको मन्त्री खनालले बताए।



