Global College

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, मंसिर २६ गते भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं । भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ अर्थात् मंसिर २६ गते काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्ने भएको हो।

संगीत, कला, फेसन, सडक खेलकुद तथा सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार, खेलाडी तथा सिर्जनात्मक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ। दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय चर्चित र्‍यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन्।

भारतीय हिपहप संगीतलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएका डिभाइनले महोत्सवमा विशेष प्रस्तुति दिनेछन्। उनीसँगै नेपाली र्‍यापर साकारले पनि आफ्नो प्रस्तुति दिनेछन्। त्यस्तै, लोकप्रिय नेपाली सांगीतिक समूह कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले पनि प्रस्तुति दिने कार्यक्रम छ। नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संगीत तथा संस्कृतिलाई समेत विशेष स्थान दिइने आयोजकले जनाएको छ।

रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली, युवा पुस्ताको रुचि र व्यक्तिगत अभिव्यक्तिसँग जोडिएको अवधारणाबाट सुरु भएको ‘हन्टरहुड’ संगीत, कला र सडक संस्कृतिमा रुचि राख्ने युवालाई एउटै स्थानमा जोड्ने महोत्सवका रूपमा विकास भएको कम्पनीले जनाएको छ।

काठमाडौंको मौलिक कला, संगीत र विकसित हुँदै गएको सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले यसपटक नेपाललाई आयोजना स्थलका रूपमा छनोट गरिएको कम्पनीको भनाइ छ।

महोत्सवमा सांगीतिक कार्यक्रमका अतिरिक्त स्केटबोर्डिङ, बीएमएक्स, स्वतन्त्र शैलीको फुटबल, बास्केटबललगायतका खेलकुद गतिविधि पनि सञ्चालन हुनेछन्। नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा विशेष स्केटपार्क गतिविधि आयोजना गरिनेछ।

स्केटिङमा रुचि राख्नेहरूका लागि ‘क्यास फर ट्रिक्स’ नामक चुनौतीसमेत राखिएको छ। यसमा सहभागीले आफ्नो सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्नेछन्। इश्ना गोएक्ना र मस्रुन स्केटले स्केटपार्कका गतिविधिको नेतृत्व गर्नेछन्।

त्यस्तै, एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा विभिन्न सडक खेल तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछन्। स्वतन्त्र शैलीको फुटबल, बास्केटबल, प्रतिक्रियात्मक समाताइ खेल, डिब्बा ढाल्ने खेल तथा गिल्ली डण्डालगायतका गतिविधिमा दर्शकले समेत प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्।

महोत्सवमा नेपाली परम्परागत कला तथा आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई पनि विशेष प्राथमिकता दिइनेछ। लाखे नाच, भैरव तथा काली नृत्यका साथै ओटाकु जात्राको भेषभूषा तथा पात्र प्रस्तुतिले महोत्सवलाई थप विविधतापूर्ण बनाउनेछन्।

पाओलो नेपालले झोलामा छाप्ने, टोपीलाई आफूले चाहेजस्तो बनाउने तथा विभिन्न सजावटी सामग्री तयार गर्ने कार्यशाला सञ्चालन गर्नेछ। त्यस्तै, बाखन न्याने वाःले परम्परागत मुखौटा निर्माणसम्बन्धी कार्यशाला आयोजना गर्नेछ। सहभागीले फ्रेन्ज ट्याटु इनमार्फत शरीरमा अस्थायी चित्र बनाउने तथा अनुहारमा रङ भर्ने अनुभवसमेत लिन सक्नेछन्।

स्थानीय फेसन, डिजाइन तथा सिर्जनात्मक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा विशेष खुला बजारसमेत सञ्चालन हुनेछ। उक्त बजारमा कापा, लाइबरलाई, ब्याज नेपाल, दोचा नेपाल, बाबल वेयर्स र ओटाकु जात्राका उत्पादन उपलब्ध हुनेछन्। साथै रोयल इन्फिल्डका विभिन्न पोसाक तथा सहायक सामग्री पनि राखिनेछन्।

खानाका पारखीका लागि महोत्सवमा विभिन्न परिकार तथा पेय पदार्थका स्टल रहनेछन्। स्क्युयर्स नेपाल, मिस्टर वाफल्स, स्वीट फिक्स, स्वर्ल आइसक्रिम, फेमस लाफिङ हाउस–टोखा, इटमःमो, टु सिस्टर्स, पाकशाला, फुल्की पोइन्ट र जेमिज बबल टीले विभिन्न स्वादका परिकार तथा पेय पदार्थ उपलब्ध गराउनेछन्।

आयोजकका अनुसार ‘हन्टरहुड काठमाडौं’ केवल सांगीतिक कार्यक्रम मात्र नभई सहरको कला, संस्कृति, खेलकुद, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै थलोमा प्रस्तुत गर्ने बहुआयामिक महोत्सव हुनेछ। यसले नेपाली युवा, कलाकार, खेलाडी तथा सिर्जनात्मक समुदायलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महोत्सवमा सहभागी हुन चाहनेले खल्ती र टिकट सञ्जालमार्फत टिकट खरिद गर्न सक्नेछन्। आयोजकका अनुसार प्रवेश टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुनेछ।

NECO

Leave Your Comment

Related News