RE
Global College

एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डमा तीन कार्य दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं ।एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’को इकाइ खरिदका लागि मागभन्दा बढी आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार बढाएर १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको छ।

एनआईसी एशिया क्यापिटलले प्रतिइकाइ १० रुपैयाँका दरले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ निष्कासन गरेको थियो। त्यसमध्ये न्यूनतम १ करोड २० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

इकाइ खरिदका लागि असोज ७ गतेदेखि असोज १३ गतेसम्म आवेदन खुला गरिएकोमा तीन कार्य दिनमै योजनाले माग गरेको रकमभन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ। असोज १२ गते साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढी रकम बराबरको इकाइ खरिदका लागि आवेदन परेको जनाइएको छ।

स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्थाअनुसार थप आवेदन प्राप्त भएमा ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’को आकार ८० करोड रुपैयाँबाट वृद्धि गरी अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिनेछ। सोही व्यवस्थाअनुसार इकाइ खरिदका लागि असोज १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।

यो योजना १० वर्ष अवधिको छैटौं बन्दमुखी योजना हो। योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ। भविष्यमा राम्रो प्रतिफल तथा वृद्धि सम्भावना भएका कम्पनीको अध्ययन र अनुसन्धान गरी त्यस्ता कम्पनीमा लगानी गर्ने योजना व्यवस्थापकले जनाएको छ।

योजनाको इकाइ खरिदका लागि न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट सञ्चालनमा रहेको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस फन्डको इकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको परिचयपत्र जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत विभिन्न संस्था तथा समूहले आवेदन दिन सक्नेछन्। त्यस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी तथा अक्षय कोषलगायत संस्थागत लगानीकर्ताले समेत इकाइ खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

Leave Your Comment

Related News