RE
Global College

विद्युत् प्राधिकरणको हिउँदे कार्ययोजना : आन्तरिक उत्पादनले नधान्ने भएसँगै हजार मेगावाट बढी भारतबाट आयात गर्ने

काठमाडौं । आगामी हिउँद याम पुसदेखि वैशाखसम्ममा देशभित्रको विद्युत् माग र आपूर्तिलाई सन्तुलित बनाउन नेपाल विद्युत् प्राधिकरणले २ हजार ३७२.७७ मेगावाट बराबरको विद्युत् उपलब्ध गराउने गरी हिउँदे कार्ययोजना तयार पारेको छ। हाल प्रणालीमा ३,७३९.४० मेगावाट कुल जडित क्षमता रहेकोमा आगामी मङ्सिर २०८३ सम्म थप ३२०.६० मेगावाट जोडिएर कुल क्षमता ४,०६० मेगावाट पुग्ने अनुमान गरिएको छ। यद्यपि, नदीहरूमा पानीको बहाव घट्ने भएकाले हिउँदमा स्वदेशी आयोजनाहरूबाट कुल क्षमताको ३० प्रतिशत अर्थात् १,२१८ मेगावाट मात्र उत्पादन हुनेछ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भने, “हालसम्म सञ्चालनमा रहेको जडित क्षमता ३,७३९.४० मेगावाट रहे पनि हिउँदमा सुख्खा यामको उपलब्ध ऊर्जा क्षमता ३० प्रतिशत मात्र रहने भएकाले आन्तरिक रूपमा करिब १,२१८ मेगावाट मात्र प्राप्त हुन्छ। सुख्खा याममा देशभरको राष्ट्रिय पिक माग करिब २,२०० मेगावाटदेखि २,३०० मेगावाटसम्म हुने अनुमान गरिएको छ, जसलाई सन्तुलनमा राख्न आयातको समेत स्पष्ट खाका बनाइएको छ।”

सम्भावित अभावलाई पूर्ति गर्न प्राधिकरणले कुल १,१५४.८० मेगावाटसम्म विद्युत् आयात गर्ने योजना बनाएको छ, जसमा ढल्केबर-मुजफ्फरपुरबाट ६००.८० मेगावाट, बिहार-यूपी लाइनबाट ३५० मेगावाट, जनबरीदेखि मे २०२७ सम्मका लागि द्विपक्षीय सम्झौता (RTC) मार्फत १५० मेगावाट र टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट आयात समेटिएको छ ।  अप्रिल र मे २०२७ को आयात भने तत्कालीन माग र आपूर्तिको स्थिति अनुसार तय गरिनेछ।

आयात योजना र प्रसारण लाइन सुदृढीकरणबारे थप स्पष्ट पार्दै कार्यकारी निर्देशक श्रेष्ठले भने, “४०० केभी ढल्केबर-हेटौँडा प्रसारण लाइन अन्तिम चरणमा पुगेको छ, जसले प्रणालीको विश्वसनीयता बढाउनुका साथै विद्युत् आयात र निर्यातलाई सहज बनाउनेछ। काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा लोड वितरण व्यवस्थापन गर्न नयाँ चार्ज भएका सबस्टेसनहरूमा लोड सिफ्ट गर्ने र ओभरलोड फिडरहरूमा भूमिगत केबल चार्ज गर्ने काम भइरहेको छ।”

काठमाडौं उपत्यकाको लोड व्यवस्थापनमा विशेष तयारीहिउँदमा काठमाडौं उपत्यकामा विद्युतीय चुलो र हिटर–एसीको प्रयोग बढ्दा लोड व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले प्राधिकरणले विशेष योजना बनाएको छ ।

उनले थपे, ‘पोहोर साल उपत्यकामा ७०० मेगावाट पिक डिमान्ड रेकर्ड भएकोमा यसपालि १० प्रतिशत बढ्ने अनुमान छ । यसलाई सम्बोधन गर्न चोभार, फुटुङ र मूलपानी सबस्टेसनहरू चार्ज गरी लोड सिफ्ट गरिँदै छ । यसका लागि बागमती प्रदेश कार्यालय प्रमुखको संयोजकत्वमा कार्यदल नै गठन गरिएको छ । साथै अन्डरग्राउन्ड केबलहरूलाई विन्टरअगावै चार्ज गरेर लोड व्यवस्थापन गरिनेछ ।’

गत आर्थिक वर्ष २०८२/८३ मा देशको औसत पिक डिमान्ड २,२९२ मेगावाट रहेको सन्दर्भमा कुल उपलब्ध हुने २,३७२.७७ मेगावाट बिजुलीले आगामी हिउँदको मागलाई सहजै धान्ने प्राधिकरणको आकलन छ।

Leave Your Comment

Related News