काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले विश्व बैंक, नेपाल कार्यालयको सहकार्यमा ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंस्थित होटल याक एन्ड यतीमा सम्पन्न गरेको छ।
सम्मेलनमा १३० भन्दा बढी पेशाकर्मी, सरकारी निकाय, महालेखापरीक्षकको कार्यालय, महालेखा नियन्त्रक कार्यालय, बैंक तथा वित्तीय संस्था, निजी इक्विटी तथा लगानी क्षेत्र, विकास साझेदार, निजी क्षेत्र र आईक्यानका सदस्यहरूको सहभागिता रहेको थियो।
दिगोपनसम्बन्धी प्रतिवेदन, जलवायुसम्बन्धी प्रकटीकरण, कार्बन लेखांकन तथा दिगो वित्तका क्षेत्रमा राष्ट्रिय सचेतना अभिवृद्धि, पेशागत क्षमता विकास तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आईक्यानले जनाएको छ।
सम्मेलनमा सार्वजनिक क्षेत्रको जलवायु प्रतिवेदन तथा अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र लेखा मापदण्ड बोर्डको दिगोपनसम्बन्धी प्रतिवेदन मापदण्ड–१, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड–१ र २ तथा त्यसको कार्यान्वयनको तयारी, कार्बन परियोजना, कार्बन क्रेडिट तथा मिश्रित वित्त, साथै दिगो मूल्य सिर्जनाका लागि कार्बन लेखांकन र सुशासनसम्बन्धी प्रतिवेदनमा पेशागत लेखापालको भूमिकालगायत चारवटा प्राविधिक सत्र सञ्चालन भएका थिए।
अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र लेखा मापदण्ड बोर्डको दिगोपनसम्बन्धी प्रतिवेदन मापदण्ड–१ तथा सार्वजनिक क्षेत्रमा जलवायु प्रतिवेदनसम्बन्धी नेपालको भावी मार्गचित्रमा केन्द्रित उद्घाटन सत्रमा आईक्यान, लेखामान बोर्ड नेपाल, महालेखा नियन्त्रक कार्यालय, महालेखापरीक्षकको कार्यालय तथा विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको थियो।
उक्त सत्रमा जलवायुसम्बन्धी सूचनालाई नेपालको विद्यमान सार्वजनिक वित्त व्यवस्थापन, बजेट तथा प्रतिवेदन प्रणालीसँग क्रमशः कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो। साथै, विश्वसनीय जलवायु प्रतिवेदनले पारदर्शिता, जवाफदेहिता तथा जलवायु वित्तमा पहुँच सुदृढ गर्न पुर्याउने योगदानबारे पनि चर्चा गरिएको थियो।
सम्मेलनमा सीए नरेन्द्र भट्टराई, सीए विदुर लुइँटेल, अन्तर्राष्ट्रिय जलवायु तथा कार्बन बजार विज्ञ डा. डिभाल्डो रेसेन्डे तथा सीए प्रबिन कुमार झाले प्राविधिक प्रस्तुति दिएका थिए।
आईक्यानका परिषद् सदस्य सीए हरि कुमार सिलवालको सहजीकरणमा सम्पन्न अन्तिम सत्रमा आईक्यानका उपाध्यक्ष सीए हेम कुमार काफ्लेसहित लेखा पेशा, बैंकिङ, कर्पोरेट तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। सत्रमा दिगोपनसम्बन्धी प्रतिवेदन, कार्बन लेखांकन, जलवायु वित्तसम्बन्धी परामर्श तथा आश्वासन सेवामा पेशागत लेखापालको विस्तार हुँदै गएको भूमिकाबारे छलफल गरिएको थियो।
कार्यक्रममा आईक्यानका अध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेले नेपालले सचेतना अभिवृद्धिमा मात्र सीमित नभई विश्वसनीय दिगोपन तथा जलवायु प्रतिवेदनका लागि आवश्यक संस्थागत प्रणाली, पेशागत दक्षता तथा प्रतिवेदन पूर्वाधारको क्रमिक विकासमा जोड दिनुपर्ने बताए।
सम्मेलनमार्फत आईक्यानले नेपालको दिगोपनसम्बन्धी प्रतिवेदन प्रणालीको विकासमा संस्थागत तथा पेशागत नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यसका लागि सरकारी निकाय, नियामक संस्था, मापदण्ड निर्धारण गर्ने निकाय, वित्तीय संस्था, विकास साझेदार तथा निजी क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिने आईक्यानले जनाएको छ।
आईक्यानले ईएसजी प्रतिवेदन, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड–१ र २, सार्वजनिक क्षेत्रको जलवायु प्रतिवेदन, कार्बन लेखांकन, दिगो वित्त तथा दिगोपनसम्बन्धी आश्वासन सेवाका क्षेत्रमा क्षमता विकास, नीतिगत संवाद तथा पेशागत तयारीलाई निरन्तर प्रवर्द्धन गर्ने जनाएको छ।
यसबाट लेखा पेशालाई नेपालको पारदर्शी, उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फको संक्रमणमा महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्न योगदान पुग्ने आईक्यानले जनाएको छ।



