RE
Global College

१२ वर्षदेखि रोकिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । करिब १२ वर्षदेखि रोकिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइनअन्तर्गत निर्माण गर्नुपर्ने १६ वटा टावरमध्ये १४ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुईवटा मल्टिसर्किट टावरको काम पनि अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दसैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आइतबार हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै निर्माणाधीन दुईवटा मल्टिसर्किट टावरको कार्यप्रगतिको जानकारी लिएका छन्। निरीक्षणका क्रममा उनले लामो समयदेखि रोकिएको आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मन्त्री श्रेष्ठको पहलमा १२ वर्षदेखि रोकिएको प्रसारण लाइनको काम अघि बढेर अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार बाँकी दुईवटा टावर १० देखि १५ दिनभित्र निर्माण सम्पन्न गरेर प्रसारण लाइन चार्ज गर्ने तयारी छ।

‘१४ वटा टावर तयार भइसकेका छन्। बाँकी दुईवटा टावरको काम पनि राम्रोसँग अघि बढिरहेको छ। १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं,’ उनले भने, ‘यसलाई ब्याकबोनका रूपमा लिएका छौं। यसले विद्युत् आपूर्तिको विश्वसनीयता बढाउनुका साथै विद्युत् खपत बढाउन र निर्यात विस्तार गर्न पनि सहयोग गर्छ। दसैंलगत्तै चार्ज गर्ने तयारी छ।’

करिब १२ वर्षदेखि रोकिएको प्रसारण लाइनको काम अघि बढाउन ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएको थियो। लामो समयदेखि रोकिएका संरचनाको निर्माण अघि बढेपछि आयोजना सम्पन्न हुने अवस्थामा पुगेको हो।

मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनलाई नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा व्याख्या गरे। उनका अनुसार लामो समयदेखि रोकिएका १६ वटा टावरको काम अघि बढ्नु ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो।

‘१६ वटा टावरको काम विगत लामो समयदेखि, करिब १२ वर्षदेखि रोकिएको थियो। राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको अवस्थामा अब के गर्ने भन्ने अन्योल थियो। सबैको प्रयासले यो काम अघि बढेर ऐतिहासिक उपलब्धिको चरणमा पुगेको छ,’ उनले भने।

उनले हेटौंडाबाट चितवन हुँदै बुटवल र अर्कोतर्फ ढल्केबरतर्फ विद्युत् प्रवाह गर्ने संरचना बलियो बनेपछि देशको पूर्व–पश्चिम विद्युत् प्रसारण प्रणाली थप जोडिने बताए। यसले बुटवलतर्फको विद्युत् प्रणालीलाई इनरुवा र इनरुवातर्फको प्रणालीलाई बुटवलसँग जोड्दै राष्ट्रिय विद्युत् प्रणालीलाई थप मजबुत बनाउने उनको भनाइ छ।

‘यहाँका दुईवटा टावरको चिन्ता थियो। सबै टिमको सक्रियतामा यो सम्पन्न हुने चरणमा पुगेको छ,’ उनले भने।

मन्त्री श्रेष्ठले प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय हुने बताए। हाल करिब ३०० मेगावाट क्षमतामा विद्युत् प्रवाह भइरहेको यस खण्डको क्षमता आयोजना सम्पन्न भएपछि करिब २ हजार मेगावाट पुग्ने उनले बताए।

‘यो प्रसारण लाइन चार्ज भइसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित र गुणस्तरीय हुन्छ। १२ वर्षदेखि अलमलमा परेको प्रसारण लाइनले अहिले गति लिएको छ। ऊर्जा क्षेत्र अब स्थिर हुन्छ। अहिले ३०० मेगावाट क्षमता छ भने यो बनेपछि २ हजार मेगावाट क्षमतामा विद्युत् प्रवाह हुन्छ। यो चानचुने उपलब्धि होइन,’ उनले भने।

हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने ऊर्जा मन्त्रालयको अपेक्षा छ। यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग पूरा गर्न सहयोग पुग्नेछ।

प्रसारण क्षमता बढेपछि वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् खेर जान नदिन र देशभित्रको विद्युत् खपत बढाउनसमेत सहयोग पुग्नेछ। साथै, भारतलगायत छिमेकी मुलुकसँगको अन्तर्देशीय विद्युत् व्यापार विस्तारका लागि आवश्यक प्रसारण पूर्वाधार थप बलियो हुने अपेक्षा गरिएको छ।

आयोजना सम्पन्न भएपछि राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्नुका साथै विद्युत् आपूर्ति, औद्योगिक खपत र विद्युत् व्यापार विस्तारका लागि महत्वपूर्ण आधार तयार हुने बताइएको छ।

 

Leave Your Comment

Related News