काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।




