काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको खेलमा नेपालले ओमानलाई जितका लागि २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २१३ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ६१ रनको योगदान दिए। त्यस्तै, अर्जुन कुमालले ४० रन, इशान पाण्डे र बसिर अहमदले समान ३७/३७ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे।
ओमानका बलरहरूविरुद्ध सम्हालिन खेल्दै नेपाली ब्याटरहरूले मध्यम स्कोर तयार पारेका हुन्। ओमानतर्फबाट बलिङ गर्दै करण सोनावले, शकील अहमद र फैसल शाहले समान दुई/दुई विकेट हात पारे। जवाफी ब्याटिङका लागि ओमान क्रिजमा उत्रिँदैछ।




