काठमाडौं । विहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४९ वटा कम्पनीको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ५५ करोड ८ लाख रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम ४ अर्ब १६ करोड ६१ लाख रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले बढेको छ।
यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।
बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। बेनी हाइड्रोपावरको शेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। त्यस्तै, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नती कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।




